घोराही, २७ असार। ज्ञानसिन्धु माध्यमिक विद्यालय, घोराहीले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान गरेको छ। शनिबार आयोजित एक कार्यक्रममार्फत विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिको कदर गर्दै सम्मान गरेको हो।
विद्यालयका सहायक प्रधानाध्यापक टङ्कप्रसाद शर्माको अध्यक्षता तथा राप्ती शिक्षा क्याम्पसका सहायक प्रमुख गणेश खड्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खड्काले कक्षा १२ उत्तीर्ण गर्नु जीवनको एउटा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उच्च शिक्षा, सीप र नैतिकतालाई आत्मसात् गर्दै अघि बढ्न विद्यार्थीलाई आग्रह गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन र विद्यार्थीमैत्री शैक्षिक वातावरणसहित राप्ती शिक्षा क्याम्पसमा स्वागत गर्न चाहेको बताउनुभयो।
विद्यालयका प्लस टू संयोजक तिलक अधिकारीले सम्मानले विद्यार्थीमा थप आत्मविश्वास र जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना दिनुभयो।

कार्यक्रममा राप्ती शिक्षा क्याम्पसका उपप्राध्यापक पुष्कर अधिकारी र माधव अधिकारीले विद्यार्थीको सफलता मेहनत, अभिभावकको साथ र शिक्षकको समर्पणको परिणाम भएको बताउनुभयो।
विद्यार्थीका तर्फबाट टिना पुन, बेगम गिरी, किरण गिरी, योगेन्द्र ओली, रोशनी घर्ती र दिलकुमारी ओलीले विद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै शिक्षक र अभिभावकको साथले सफलता हासिल गर्न सकेको अनुभव सुनाउनुभयो।
कार्यक्रमको सञ्चालन शिक्षक देव भण्डारीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

