सरकारले देशका सबै छ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त गर्दै लामो समयदेखि रिक्त रहेको नेतृत्वलाई पूर्णता दिएको छ। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति वालेन्द्र शाहले छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उपकुलपतिहरू नियुक्त गरेका हुन्।
नियुक्तिअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.अजयकुमार मिश्र नियुक्त भएका छन्। मिश्र बरिष्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ हुन् । यससँगै राप्ती प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ।
यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङम्बो नियुक्त भएका छन्।

उपकुलपति नियुक्तिका लागि सरकारले गठन गरेको छनोट तथा सिफारिस समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार प्रक्रिया अघि बढाएको थियो।
समितिले जेठ ४ गते आवेदन आह्वान गरेपछि उपकुलपति पदका लागि ११३ जनाले आवेदन दिएका थिए। आवेदनको मूल्यांकनपछि प्रत्येक प्रतिष्ठानका लागि सात जनाका दरले ४२ जनालाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि प्रारम्भिक सूचीमा समावेश गरिएको थियो।
सरकारले प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेतृत्व नियुक्त गरेसँगै ती संस्थाहरूको शैक्षिक, स्वास्थ्य सेवा तथा अनुसन्धान गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
