
नवल जीएम
गोरखा अस्पताल स्थापना भएको आज १६ वर्ष पूरा भएको छ। १६ वर्षअघि दाङ तथा समग्र राप्ती क्षेत्रको स्वास्थ्य सेवा अत्यन्तै दयनीय अवस्थामा थियो। त्यसबेला दाङ उपत्यकामा सामान्य उपचारसमेत सहज रूपमा उपलब्ध थिएन। गम्भीर बिरामीहरूलाई त झन् धेरै टाढा लैजानुपर्ने बाध्यता थियो। मलाई अहिले पनि स्पष्ट रूपमा सम्झना छ- महेन्द्र अस्पतालमा सिजेरियन (CS) मार्फत प्रसूति गराउनसमेत पर्याप्त सुविधा थिएन। रोल्पा, रुकुमजस्ता पहाडी जिल्लामा त यो समस्या झन् विकराल थियो। त्यहाँका गर्भवती महिलाहरूले सुत्केरी हुँदा ज्यानकै जोखिम मोल्नुपर्थ्यो। मेरा चिनेजानेका थुप्रै व्यक्तिहरूका परिवारमा सुत्केरीका क्रममा मृत्यु भएका घटनाहरू थिए। यी दृश्यहरूले हामी सबैलाई गहिरो पीडा दिन्थे र केही गर्नुपर्छ भन्ने प्रेरणा जगाउँथे।
त्यसबेला गोरखा स्कुल पनि भर्खरै विकासको चरणमा थियो। विद्यालयको विकाससँगै स्वास्थ्य क्षेत्रमा पनि केही योगदान गर्नुपर्छ भन्ने हाम्रो सोच थियो। एउटा रोचक प्रसङ्ग के थियो भने जनार्दन पन्थी, माधव पन्थी, मानबहादुर बुढा र म गरी हामी चारजनाले महेन्द्र अस्पताललाई सुदृढ बनाउने योजना बनायौँ। त्यस योजनालाई मूर्त रूप दिन हामीले तत्कालीन स्वास्थ्य मन्त्री कृष्णबहादुर महरासँग भेटघाट तथा पहल गर्यौँ। महरा सरले हाम्रो प्रस्तावलाई गम्भीरतापूर्वक लिनुभयो र १०० शय्याको क्षेत्रीय अस्पताल स्थापना गर्ने प्रक्रिया अघि बढाउन पहल गर्नुभयो। उहाँले स्त्रीरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, रेडियोलोजिस्ट, जनरल सर्जन र फिजिसियन गरी पाँच जना प्रमुख विशेषज्ञ चिकित्सकलाई दाङ सरुवा गराउनुभयो। तर, तीमध्ये कुनै पनि चिकित्सक सरकारी अस्पतालमा आउन तयार भएनन्।
त्यसपछि हामीले दाउन्नेस्थित हालको कान्तिपुर होटलमा ती चिकित्सकहरूसँग बैठक गर्यौँ। त्यस बैठकमा निजी अस्पताल स्थापना गरिएपछि मात्र उनीहरू दाङको घोराहीमा आउने सहमति भयो। ती पाँच जना चिकित्सकहरूले त्यसबेला “राप्ती क्षेत्रमा पनि गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छ” भन्ने विश्वास जगाएका थिए। उनीहरूको आगमनले यस क्षेत्रको स्वास्थ्य सेवामा नयाँ ऊर्जा सञ्चार गर्यो। स्थानीय बासिन्दाहरूले पनि उत्साहका साथ यस अभियानलाई साथ दिए। यसरी सरकारी स्वास्थ्य सेवाको सुदृढीकरणमा टेवा पुर्याउने उद्देश्यसहित गोरखा अस्पतालको जन्म भएको थियो।
त्यसबेलाको सामान्य जिल्ला अस्पताल अहिले उपक्षेत्रीय अस्पताल हुँदै मेडिकल कलेजसम्मको यात्रामा पुगिसकेको छ। राप्ती क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने महरा सर अहिले राजनीतिबाट अवकाश लिइसक्नुभएको छ।
करिब पाँच करोड रुपैयाँको लगानीमा गोरखा अस्पताल स्थापना गरिएको थियो। स्थानीय लगानीकर्ता गोविन्द न्यौपाने, शंकर गौतम, केशव न्यौपाने, माधव शर्मा लगायत थुप्रै व्यक्तिहरूले आफ्नो पुँजी लगानी गरेका थिए। उनीहरूको योगदानकै कारण अस्पताल सञ्चालनमा आउन सफल भयो। करिब एक दशकसम्म ती चिकित्सकहरूको टोलीले दाङ, रोल्पा, सल्यानलगायतका जिल्लाका बिरामीहरूलाई सरकारी तथा निजी दुवै अस्पतालमार्फत उत्कृष्ट सेवा प्रदान गर्यो। उनीहरूले अत्यन्त निष्ठा, इमानदारी र समर्पणका साथ उपचार गरे, जसका कारण यस क्षेत्रका नागरिकले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन थाले। आज पनि ती चिकित्सकहरूको योगदान जनमानसमा ताजै छ। उनीहरूको योगदान कहिल्यै बिर्सन सकिँदैन।
यो १६ वर्षको अवधिमा गोरखा अस्पतालमा करिब २० हजार शल्यक्रिया सम्पन्न भएका छन्। राप्ती उपक्षेत्रीय अस्पतालमा त यो सङ्ख्या अझै धेरै भएको हुन सक्छ। तर, अस्पतालको थप विकासका लागि आवश्यक पूर्वाधार र लगानी जुटाउन हामी सञ्चालकहरू सफल हुन सकेनौँ। समयअनुसार यसलाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्नुपर्ने थियो। त्यसका लागि ठूलो लगानी आवश्यक थियो, जुन हामीसँग पर्याप्त थिएन। लगानीकर्ताहरूलाई उचित प्रतिफल दिन नसक्दा थप लगानी आकर्षित गर्न पनि कठिन भयो। त्यसैले गोरखा अस्पतालले महेन्द्र अस्पतालजस्तो ठूलो फड्को मार्न नसके पनि यसको सेवा र विश्वास आज पनि उत्तिकै मजबुत छ। बिरामीहरूले यहाँका चिकित्सक र कर्मचारीप्रति गहिरो भरोसा राखेका छन्। विगत १६ वर्षदेखि हाम्रो सञ्चालक समितिमा कुनै मनमुटाव भएको छैन, जुन आफैंमा उल्लेखनीय उपलब्धि हो।
यद्यपि अस्पताल कहाँ विस्तार गर्ने भन्ने विषयमा हाम्रो बीचमा मतभेद भने थियो। मेरो धारणा अस्पताललाई सहरबाहिर रहेको आफ्नै जग्गामा स्थानान्तरण गरी त्यहाँ प्यारामेडिकल कार्यक्रम सञ्चालन गर्ने थियो। यसले दीर्घकालीन विकास र विस्तारमा सहजता ल्याउँछ भन्ने मेरो विश्वास थियो। तर माधव पन्थीको धारणा अस्पताललाई सहरमै सुदृढ रूपमा विकास गर्ने थियो। उहाँका अनुसार सहरको केन्द्रमा अस्पताल रहँदा बिरामीहरूको पहुँच सहज हुन्छ र सेवा अझ प्रभावकारी हुन्छ। यी दुवै कार्यनीति आफ्नै ठाउँमा महत्वपूर्ण र सम्भावनायुक्त थिए।
यसपटकको साधारण सभाले यी दुई अवधारणाबीच अन्तिम निर्णय गर्यो, जुन अत्यन्त महत्वपूर्ण थियो। लामो समयदेखि यी दुई कार्यनीतिबीचको मतभेदका कारण अस्पतालको विकास केही हदसम्म प्रभावित भएको थियो। तर अब त्यो अन्योल समाप्त भएको छ।
अन्ततः गोरखा अस्पतालले सहरमै सेवा विस्तार गर्ने निर्णय गरेको छ। हाम्रो अध्यक्षले अवकाश लिइसक्नुभएको छ र नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेको छ। नयाँ टोलीले समयअनुकूल गुणस्तरीय सेवा, आधुनिक पूर्वाधार तथा अत्याधुनिक उपकरणको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बिरामीहरूको बढ्दो चापलाई मध्यनजर गर्दै थप उपचार सेवाहरू विस्तार गरिने योजना छ। साथै, जनचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालन गरी समुदायस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरिनेछ।
दाङ उपत्यका हावापानीका दृष्टिले पनि अत्यन्त उपयुक्त क्षेत्र हो। यहाँको जलवायु उपचारका लागि अनुकूल छ, साथै आवास तथा अन्य खर्च पनि तुलनात्मक रूपमा कम छ। यी सबै कारणले आगामी दिनमा बिरामीहरूको सङ्ख्या अझ बढ्ने देखिन्छ। भविष्यमा नेपालगञ्ज, बुटवल, काठमाडौं र भारतको लखनउसम्म जाने धेरै बिरामीहरू दाङमै उपचारका लागि आउने अवस्था सिर्जना हुन सक्छ। यसले दाङलाई एक प्रमुख मेडिकल हबका रूपमा विकास गर्ने सम्भावना प्रबल बनाएको छ। दाङको सेवा पहुँच रोल्पा, सल्यान, रुकुम, प्युठानलगायतका जिल्लासम्म फैलिएको छ। त्यसैले यस क्षेत्रलाई मेडिकल हबका रूपमा विकास गर्न पर्याप्त आधार छन्।
यस क्षेत्रका जनतालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ। त्यसैले जोखिम मोलेर भए पनि गोरखा अस्पताललाई अझ माथि उठाउनुको विकल्प छैन। दाङलाई स्वास्थ्य क्षेत्रको प्रमुख केन्द्रका रूपमा स्थापित गर्नु हामी सबैको साझा लक्ष्य हो। यसका लागि सबै पक्षको सहयोग, साझेदारी र प्रतिबद्धता अपरिहार्य छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
