दाङ । दाङको बंगलाचुली गाउँपालिका–३ निवासी सामाजिक अभियन्ता गिरिराज डाँगीले नेपालका होटल, रेस्टुरेन्ट तथा व्यापारिक प्रतिष्ठानहरूमा सरसफाइ, खाद्य सुरक्षा र व्यापार व्यवस्थापनलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन्। उनले मद्यपान तथा धूम्रपानजन्य सामग्री, तरकारी, मासु तथा अन्य खाद्य सामग्री एउटै स्थानबाट बिक्री गर्ने अभ्यास अन्त्य गरी छुट्टाछुट्टै र व्यवस्थित व्यापारिक प्रणाली लागू गर्न सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा डाँगीले खाद्य सामग्री र मद्यपान तथा धूम्रपानजन्य सामग्री एउटै स्थानमा बिक्री गर्दा सरसफाइ, गुणस्तर तथा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने बताए। उनका अनुसार प्रत्येक प्रकारका सामग्रीका लागि स्पष्ट मापदण्ड र छुट्टै व्यापारिक व्यवस्था लागू गरिनु आवश्यक छ।
उनले व्यापारिक क्षेत्र व्यवस्थित हुँदा नयाँ व्यवसाय सुरु गर्न चाहने युवाहरूलाई समेत लाभ पुग्ने विश्वास व्यक्त गरे। कुन क्षेत्रमा लगानी गर्ने, कुन व्यवसायको माग बढी छ र कुन क्षेत्रबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने विषयमा स्पष्टता आउने भएकाले व्यवसायीहरू अन्योलमा नपरी योजनाबद्ध रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने उनको भनाइ छ।
डाँगीले सम्बन्धित सरकारी निकायलाई होटल, रेस्टुरेन्ट तथा व्यापारिक प्रतिष्ठानहरूको नियमित अनुगमन गर्न, खाद्य सुरक्षा मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न तथा उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक नीतिगत सुधार गर्न आग्रह गरेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
