बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को १०५औँ स्थापना दिवसको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार सन् २०२५ को अन्त्यसम्म पार्टीका सदस्य संख्या दश करोड दश लाख २८ हजार (१०१.२८ मिलियन) पुगेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा करिब १० लाख १० हजारले बढी हो। उक्त प्रतिवेदन मङ्गलबार सीपीसी केन्द्रीय समितिको संगठन विभागले सार्वजनिक गरेको हो।
प्रतिवेदनअनुसार सन् २०२५ मा पार्टी सदस्य संख्या सन्तुलित रूपमा वृद्धि भएको, सदस्यहरूको संरचना थप गुणस्तरीय बन्दै गएको, सदस्यहरूको शिक्षा तथा व्यवस्थापन सुदृढ भएको र आधारभूत तहका पार्टी संगठन अझ प्रभावकारी बनेका छन्।
सन् २०२५ मा पार्टी सदस्य संख्या अघिल्लो वर्षको तुलनामा १ प्रतिशत ले बढेको छ। सो वर्ष २० लाख ८६ हजार भन्दा बढी नयाँ सदस्य पार्टीमा आबद्ध भएका छन्। तीमध्ये ५१.४ प्रतिशत उत्पादन तथा कार्यक्षेत्रका अग्रपङ्क्तिमा कार्यरत व्यक्ति रहेका छन् भने ५४.८ प्रतिशत ले कम्तीमा स्नातक तहभन्दा तल्लो उच्च शिक्षा (जुनियर कलेज) पूरा गरेका छन्। साथै ८४ प्रतिशत नयाँ सदस्यको उमेर ३५ वर्ष वा सोभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ।
सन् २०२५ को अन्त्यसम्म पार्टी सदस्य बन्न आवेदन दिएका व्यक्तिको संख्या २ करोड ८ लाख ६४ हजार पुगेको छ भने सक्रिय रूपमा सदस्यता प्रक्रियामा रहेका आवेदक १ करोड ६ लाख ४० हजार छन्।
सदस्यहरूको शैक्षिक स्तरमा सुधार
प्रतिवेदनअनुसार पार्टी सदस्यहरूको शैक्षिक स्तर निरन्तर उकासिँदै गएको छ। सन् २०२५ को अन्त्यसम्म ५ करोड ९७ लाख ७० हजार अर्थात् कुल सदस्यको ५९ प्रतिशत ले कम्तीमा जुनियर कलेज वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशत बिन्दु ले बढी हो।

महिला सदस्यको संख्या ३ करोड १९ लाख १० हजार नाघेको छ, जुन कुल सदस्यको ३१.५ प्रतिशत हो। यो अघिल्लो वर्षको तुलनामा ०.६ प्रतिशत बिन्दु ले वृद्धि भएको हो। त्यस्तै, जातीय अल्पसंख्यक समुदायका सदस्यको संख्या ७८ लाख ८० हजार अर्थात् कुल सदस्यको ७.८ प्रतिशत पुगेको छ।
श्रमिक र किसान अझै पनि पार्टी सदस्यताको मुख्य आधार बनेका छन्। उनीहरूको हिस्सा कुल सदस्यको ३२.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
सदस्य प्रशिक्षण र सम्मान
पार्टी सदस्यहरूको शिक्षा तथा व्यवस्थापनमा पनि सुधार आएको छ। सन् २०२५ मा प्रशिक्षण प्राप्त गर्ने सदस्यको संख्या अघिल्लो वर्षको तुलनामा ३.७ प्रतिशत ले बढेको छ।
सोही वर्ष देशभरका विभिन्न तहका पार्टी संगठनले १ लाख ८ हजार उत्कृष्ट आधारभूत पार्टी संगठन, ५ लाख ८३ हजार उत्कृष्ट पार्टी सदस्य तथा १ लाख ६५ हजार आदर्श पार्टी कार्यकर्तालाई सम्मान गरेका छन्। साथै पार्टीमा ५० वर्ष पूरा गरेका ९ लाख ३९ हजार सदस्यलाई स्मृति पदक प्रदान गरिएको छ।
गुणस्तरीय सदस्यता विस्तारमा जोड
सीपीसी चोङछिङ नगर समितिको पार्टी स्कुलका प्राध्यापक सु वेई का अनुसार, पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनपछि सदस्य विस्तारमा संख्याभन्दा गुणस्तरलाई बढी प्राथमिकता दिइएको छ। उनका अनुसार यो नीति चीनको तीव्र आर्थिक वृद्धिबाट उच्च गुणस्तरीय विकास तर्फको रणनीतिक रूपान्तरणसँग मेल खान्छ।
उनी भन्छन्, सदस्य बन्ने इच्छुकको संख्या बढ्दो भए पनि नयाँ सदस्य छनोटका मापदण्ड कडा बनाइएको छ। वैज्ञानिक, प्राविधिक तथा बौद्धिक वर्गका व्यक्तिहरूको सहभागिता निरन्तर बढ्दै जाँदा पार्टीको समग्र संरचना थप सुदृढ बन्दै गएको छ।
आधारभूत संगठन थप सुदृढ
प्रतिवेदनअनुसार सन् २०२५ को अन्त्यसम्म देशभर ३ लाख १४ हजार आधारभूत पार्टी समिति रहेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ८ हजार बढी हो। त्यस्तै, आधारभूत सामान्य पार्टी शाखा ३ लाख ३३ हजार र पार्टी शाखा ४७ लाख ८० हजारभन्दा बढी पुगेका छन्।
ग्रामीण पुनर्जागरण अभियानलाई गति दिन गाउँस्तरीय पार्टी संगठनलाई थप सुदृढ बनाइएको छ। सन् २०२५ को अन्त्यसम्म चीनमा करिब ४ लाख ८३ हजार गाउँ पार्टी शाखा सचिव रहेका छन्। तीमध्ये ५६.५ प्रतिशत ले कम्तीमा जुनियर कलेज वा सोभन्दा माथिको शिक्षा हासिल गरेका छन्, जुन सन् २०२४ को तुलनामा ८.९ प्रतिशत बिन्दु ले बढी हो।
प्राध्यापक सु वेईका अनुसार, सुदृढ र व्यवस्थित संगठनात्मक संरचना नै सीपीसीको विशिष्ट संस्थागत शक्ति हो। केन्द्रीय समितिको एकीकृत नेतृत्व र देशभर फैलिएका आधारभूत पार्टी संगठनमार्फत शासन व्यवस्थालाई प्रभावकारी बनाइएको उनले बताए।
उनका अनुसार यही व्यापक संगठनात्मक सञ्जालले समाजका विभिन्न क्षेत्रका सक्षम र अग्रणी व्यक्तिहरूलाई पार्टीमा आबद्ध गराउने वातावरण सिर्जना गरेको छ।
सन् २०१७ मा सीपीसीले ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद सम्बन्धी विचार’ लाई दीर्घकालीन मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको थियो। यसका १४ आधारभूत सिद्धान्त मध्ये पहिलो सिद्धान्त “सबै क्षेत्रमा पार्टीको नेतृत्व सुनिश्चित गर्ने” र अन्तिम अर्थात् १४औँ सिद्धान्त “पार्टी शासनलाई पूर्ण र कडाइका साथ कार्यान्वयन गर्ने” रहेको छ।
सु वेईका अनुसार यी दुई सिद्धान्त नै चीनको राष्ट्रिय शासन प्रणालीको मूल आधार हुन्। आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक तथा पर्यावरणीय विकासका सबै प्रयास पार्टी नेतृत्व र सुदृढ पार्टी निर्माणमा आधारित रहेको उनले बताए। उनका अनुसार पार्टी निर्माणलाई सुदृढ बनाउनु नै चिनियाँ विशेषतासहितको समाजवाद र राष्ट्रिय विकासलाई अघि बढाउने आधारभूत सुनिश्चितता हो।
स्रोतः ग्लोबल टाइम्स

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
