लक्ष्मी ओली
रोल्पा, तालाबाङ ।
रोल्पाको माडी गाउँपालिकामा लिफ्टिङ प्रविधिमार्फत घरघरमा खानेपानी पुगेपछि गाउँको मुहार फेरिएको छ।

रोल्पा तालाबाङ गाउँको दैनिकी हिजोआज निकै फेरिएको छ। केही समय अघिसम्म यहाँका बासिन्दाहरूको आँखा खुल्ने बित्तिकै खानेपानीको चिन्ताले सताउँथ्यो। हातमा गाग्री बोकेर घण्टौँ टाढाको पँधेरामा लाइन लाग्नु यहाँका बुढापाका, महिला र विद्यालय जाने बालबालिकाको दैनिकी नै बनेको थियो। तर, आज तालाबाङबासीको त्यो वर्षौँदेखिको खानेपानीको अभाव, छटपटी र सास्ती अब एकादेशको कथा बनेको छ।
भौगोलिक विकटताका कारण सोझै पानी ल्याउन असम्भव भएपछि गाउँमा आधुनिक प्रविधिको प्रयोगद्वारा खोलाको मुहानबाट लिफ्टिङ प्रविधिमार्फत गाउँको डाँडामा ठुलो ट्याङ्की निर्माण गरिएको छ। सोही ट्याङ्कीबाट अहिले सिङ्गै गाउँका प्रत्येक घरघरमा खानेपानीका धाराहरू पुर्याइएका छन्।

”हिजो पानीकै लागि पँधेरामा लाइन लाग्नुपर्थ्यो, आज घर आँगनमै पानीको धारा आउँदा हाम्रो त जुनी नै फेरिए झैँ भएको छ,” स्थानीय बासिन्दा अविशेक के.सी.ले खुसी हुँदै भन्नुभयो।

आज घरमै धारा पुगेपछि समय बचत भई बालबालिकाहरू नियमित विद्यालय जाने र महिलाहरूले नाम्लोका सास्तीबाट मुक्ति पाएका छन्। यो अभियानले तालाबाङका जनजीवन सहज बनाउनुका साथै गाउँको सरसफाइ र स्वास्थ्य स्थितिमा समेत ठुलो सकारात्मक परिवर्तन ल्याएको छ।
तस्वीर: एआई

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
