दाङ । नेपालको हिमाली भू–भागमा यस्ता धेरै स्थान छन्, जहाँ पुग्दा शब्दभन्दा अनुभूति धेरै बोल्छ। तीमध्ये एक हो– रुकुम पूर्वको चौरीखर्क। यहाँ पुग्ने जो–कोहीले प्रकृतिलाई केवल हेर्दैन, महसुस गर्छ। यहाँको हावा, यहाँको मौनता, यहाँका पाटन, यहाँका बुकी फूल र टाढासम्म फैलिएका हिमशृंखलाले मानौं प्रकृतिको अनुपम कविता सुनाइरहेका हुन्छन्।
असार महिनाको आगमनसँगै चौरीखर्कले नयाँ रूप धारण गरेको छ। विशाल हरिया पाटनहरू यतिबेला राता, पहेँला, बैजनी, निला र सेता बुकी फूलहरूले ढकमक्क भएका छन्। हरियो कार्पेटमाथि प्रकृतिले इन्द्रेणीका रङहरू छरेझैँ देखिने दृश्यले यहाँ पुग्ने प्रत्येकको मन लोभ्याउँछ। बिहानको हल्का कुहिरो, हिमाली चिसो हावा, चराचुरुङ्गीको मधुर स्वर र फूलहरूको सुगन्ध मिसिँदा चौरीखर्क कुनै स्वर्गीय बगैंचाभन्दा कम लाग्दैन। सूर्यका पहिलो किरणहरू हिमालका चुचुरामा पर्दा पाटनभरि सुनौलो चमक फैलिन्छ।
साँझपख अस्ताउँदो घामले आकाशलाई सुन्तला र रातो रङले सजाउँदा चौरीखर्क झन् मनमोहक देखिन्छ। यस्तो लाग्छ, प्रकृतिले दिनभरि कोरेको चित्र साँझ पर्दा झन् सुन्दर बनेर आँखाअघि उभिएको छ। तर चौरीखर्क केवल रमणीय दृश्यको नाम मात्र होइन। यो हिमाली जीवनशैली, परम्परागत पशुपालन, जैविक विविधता र स्थानीय संस्कृतिको जीवन्त संग्रहालय पनि हो। वर्षौंदेखि स्थानीय समुदायले यही पाटनमा चौँरी, भेडा र गाईवस्तु चराउँदै आएका छन्।
उनीहरूको जीवन, संस्कृति, रहनसहन र प्रकृतिसँगको आत्मीय सम्बन्धले चौरीखर्कलाई केवल पर्यटकीय गन्तव्य होइन, जीवन सिकाउने खुला पाठशाला बनाएको छ। यहाँका गोरेटाहरूले पुस्तौँदेखिका यात्राका कथाहरू बोकेका छन्। ढुंगाहरूले समयको इतिहास सम्झाइरहेका छन् भने पाटनहरूमा फुलेका प्रत्येक फूलले प्रकृतिको सन्तुलन र सौन्दर्यको कथा सुनाइरहेका छन्।
यहाँ पुग्ने जो–कोहीले केही क्षणका लागि भए पनि शहरको कोलाहल, तनाव र व्यस्ततालाई बिर्सेर प्रकृतिको काखमा हराउन सक्छ। यति अद्वितीय प्राकृतिक सम्पदा हुँदाहुँदै पनि चौरीखर्क अझै पर्याप्त पूर्वाधारको अभावमा ओझेलमै छ। सहज सडक पहुँच, सुरक्षित पदमार्ग, पर्यटकमैत्री विश्रामस्थल, खाने–बस्ने आधारभूत सुविधा, सूचना केन्द्र तथा योजनाबद्ध प्रचार–प्रसारको कमीले यसको वास्तविक सम्भावना अझै पूर्ण रूपमा उजागर हुन सकेको छैन।
यदि राज्य, स्थानीय सरकार र निजी क्षेत्रले संरक्षण र दिगो पर्यटनलाई प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार विकास गर्न सके, चौरीखर्क नेपालकै उत्कृष्ट हिमाली पर्यटन गन्तव्यमध्ये एक बन्न सक्ने पर्याप्त सम्भावना बोकेको छ। यसले स्थानीय युवालाई रोजगारी, स्थानीय उत्पादनको बजार, होमस्टे व्यवसायको विस्तार तथा समग्र स्थानीय अर्थतन्त्रलाई नयाँ ऊर्जा दिन सक्छ। यतिबेला सामाजिक सञ्जालमा चौरीखर्कका मनमोहक तस्बिर र भिडियोहरूले हजारौँ मानिसको ध्यान तानेका छन्।
धेरैले यो सुन्दर स्थानलाई आफ्नै आँखाले हेर्ने इच्छा व्यक्त गरिरहेका छन्। तर केवल भाइरल तस्बिरहरूले मात्र यसको भविष्य सुरक्षित हुँदैन।यसको प्राकृतिक सौन्दर्य, जैविक विविधता र मौलिक संस्कृतिलाई जोगाउनु हामी सबैको साझा जिम्मेवारी हो।
चौरीखर्क पुग्ने प्रत्येक यात्रुले घुम्ने मात्र होइन, जोगाउने पनिु भन्ने भावना आत्मसात् गर्न आवश्यक छ। फोहोर नगर्ने, प्लास्टिक नछोड्ने, स्थानीय संस्कृति र परम्पराको सम्मान गर्ने तथा प्रकृतिलाई कुनै क्षति नपुर्याउने व्यवहार नै चौरीखर्कप्रतिको साँचो सम्मान हुनेछ। प्रकृतिले चौरीखर्कलाई खुलेर दिएको छ—रङ, सुगन्ध, शान्ति, सौन्दर्य र जीवनका असंख्य अनुभूतिहरू। अब त्यसलाई चिन्ने, संरक्षण गर्ने र विश्वसामु परिचित गराउने जिम्मेवारी हाम्रो काँधमा आएको छ।

फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।
