मधुसूदन गिरी
दाङ । दाङको बंगलाचुली गाउँपालिकामा लामो समयदेखि बन्द रहेका टिप्पर आजदेखि पुनः सञ्चालनमा आएका छन्। स्थानीयवासीको मागअनुसार घोराही उपमहानगरपालिकाको सीमादेखि बंगलाचुली क्षेत्रमा एक किलोमिटर सडक कालोपत्रे सम्पन्न भएपछि टिप्पर सञ्चालन गर्न दिने निर्णय गरिएको हो।
बंगलाचुली–४ जुम्लेपानी निवासी टङ्कु भण्डारीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीसहित वडा नम्बर ४ का वडा अध्यक्ष डास बहादुर डाँगी सिमेन्ट उद्योगका प्रतिनिधि सुरक्षाकर्मी तथा स्थानीयवासी उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले सडक विकाससँगै सडकको संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले टिपर सञ्चालनलाई मापदण्डअनुसार व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो। ओभरलोड नियन्त्रण, सवारीको गति सीमित गर्ने, तोकिएको समयको पालना गर्ने तथा सडकमा कुनै क्षति भए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिने उहाँको भनाइ छ।
यसअघि भएको सहमतिअनुसार सगरमाथा सिमेन्ट र सम्राट सिमेन्ट उद्योगले सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका थिए। सोही सहमतिअनुसार दुवै उद्योगले निर्धारित सडक खण्डको कालोपत्रे कार्य सम्पन्न गरेपछि टिप्पर सञ्चालन पुनः सुरु गरिएको हो। बैठकले सडक निर्माण कार्य समयमै सम्पन्न गर्न सहयोग गर्ने स्थानीय समुदाय, वडा कार्यालय, बंगलाचुली गाउँपालिका, सिमेन्ट उद्योग तथा निर्माण व्यवसायीप्रति धन्यवाद ज्ञापन गरेको छ। यस्तै, पूर्व सहमतिअनुसार तापाचोकदेखि जुम्लेपानीसम्म थप एक किलोमिटर सडक आगामी कात्तिक मसान्तभित्र कालोपत्रे सम्पन्न गर्न गाउँपालिकासँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ।
सडक संरक्षणका लागि स्थानीयवासी, सिमेन्ट उद्योग, टिप्पर व्यवसायी समिति, स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गरी ओभरलोड नियन्त्रण, सवारीको गति सीमित गर्ने, सञ्चालन समयको पालना गराउने तथा आवश्यक मापदण्ड लागू गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, सडकमा कुनै क्षति वा समस्या देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने र भविष्यमा टिप्पर सञ्चालनलाई थप व्यवस्थित बनाउने निर्णयसमेत गरिएको छ। केहि समय अघि निर्धारित समयमा सहमति कार्यान्वयन नभएको भन्दै स्थानी आन्दोलित हुन पुगेका थिए। साथै उनिहरुले टिप्पर सञ्चालनमा पुर्ण रुपमा रोक लगाएका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
