घोराही । दाङको घोराही–३ मा सञ्चालित तीन सय शैयाको संजीवनी टिचिङ हस्पिटलले स्वास्थ्य सेवामा नयाँ उपलब्धि हासिल गर्दै दुरवीन ९ल्याप्रोस्कोपिक० प्रविधिबाट जटिल प्रकृतिका अत्याधुनिक शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालका अनुसार पश्चिम नेपालमै पहिलो पटक यस स्तरका केही जटिल ल्याप्रोस्कोपिक शल्यक्रिया दाङमै नियमित रूपमा उपलब्ध गराउन थालिएको हो।
अस्पतालले पछिल्ला दिनमा न्यून चिरफार, छिटो निको हुने तथा बिरामीमैत्री मानिने दुरवीन प्रविधिमार्फत विभिन्न प्रकारका शल्यक्रिया गर्दै आएको जनाएको छ। हाल सञ्चालन भइरहेका प्रमुख शल्यक्रियामा ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी (Laparoscopic Cholecystectomy) पित्तथैलीको शल्यक्रिया, ल्याप्रोस्कोपिक ऐपेन्डेक्सटोमी (Laparoscopic Appendectomy)एपेन्डिक्स शल्यक्रिया, ल्याप्रोस्कोपिक हर्निया शल्यक्रिया (Laparoscopic Hernia Surgery) , ल्याप्रोस्कोपिक भेरिकोसेलेक्टोमी (Laparoscopic Varicocelectomy) तथा कलेजोको हाइडाटिस सिस्ट (Liver Hydatid Cyst) सम्बन्धी शल्यक्रिया रहेका छन्।
अस्पतालका सर्जरी विभाग प्रमुख तथा कन्सल्ट्यान्ट सर्जन डा। रविन आचार्य का अनुसार दुरवीन प्रविधि आधुनिक शल्यचिकित्साको प्रभावकारी विकल्पका रूपमा विकसित हुँदै गएको छ। उहाँले भन्नुभयो,“यस प्रविधिबाट अप्रेशन गर्दा शरीरमा ठूलो चिरा लगाउनुपर्दैन। न्यूनतम घाउ, कम दुखाइ, कम रक्तस्राव, संक्रमणको जोखिम न्यून र छिटो स्वास्थ्य लाभ हुने भएकाले बिरामीका लागि निकै प्रभावकारी मानिन्छ।”उहाँका अनुसार यस प्रकारको शल्यक्रियापछि बिरामीलाई लामो समय अस्पताल बस्नुपर्ने अवस्था कम हुन्छ र धेरैजसो बिरामी केही दिनभित्रै आफ्नो सामान्य दैनिकीमा फर्किन सक्षम हुन्छन्। साथै अप्रेशनपछि हुने जटिलता र असहजता पनि तुलनात्मक रूपमा कम हुने चिकित्सकहरूको भनाइ छ।
संजीवनी टिचिङ हस्पिटलका कार्यकारी प्रमुख दिपक रोका ले दाङमै यस्तो सेवा उपलब्ध हुनुले क्षेत्रीय स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको बताउनुभयो। उहाँका अनुसार यसअघि यस्ता आधुनिक शल्यक्रियाका लागि दाङसहित साविक लुम्बिनी क्षेत्र तथा आसपासका जिल्लाका बिरामीहरूलाई रुपन्देही, बाँके तथा भारतसम्म जानुपर्ने बाध्यता थियो।उहाँले भन्नुभयो,“अब बिरामीहरूले आफ्नै क्षेत्रमा गुणस्तरीय र आधुनिक शल्यक्रिया सेवा प्राप्त गर्न सक्ने अवस्था बनेको छ। यसले समय, खर्च र मानसिक तनावसमेत घटाउनेछ।”
अस्पतालले आधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सक टोली तथा गुणस्तरीय स्वास्थ्य सेवामार्फत दाङलाई स्वास्थ्य सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ। अस्पतालका अनुसार आगामी दिनमा थप अत्याधुनिक शल्यक्रिया तथा विशेषज्ञ सेवा विस्तार गर्ने योजना पनि अघि बढाइएको छ।स्थानीय नागरिकहरूले पनि आफ्नै जिल्लामा आधुनिक स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि उपचारमा सहजता आएको प्रतिक्रिया दिएका छन्। स्वास्थ्य क्षेत्रका जानकारहरूले यसलाई प्रदेशस्तरमै महत्वपूर्ण उपलब्धिका रूपमा हेरेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
