ओमप्रकाश गुप्ता
भालुवाङ । जीवनमा कहिलेकाहीँ यस्ता मोडहरू आउँछन्, जहाँ मानिससँग दुःख सहेर बाँच्नुबाहेक अर्को विकल्प बाँकी रहँदैन् । दाङको गढवा गाउँपालिका–३ धैरेनीका ५२ वर्षीय अर्जुन परियारको जीवन पनि यस्तै पीडा, संघर्ष र अभावले भरिएको छ। वर्षौँदेखि मजदुरी गरेर परिवार पाल्दै आएका अर्जुन अहिले आफ्नै घरको छानो उडेर उजाड बनेपछि आमाको घरको बरन्डामा रात बिताउन बाध्य हुनुहुन्छ ।
ऐलानी जग्गामा बनेको अर्जुनको सानो घर समयसँगै जीर्ण बन्दै गयो। आर्थिक अवस्था कमजोर भएका कारण उहाँले घरको मर्मत गर्न सक्नु भएन । वर्षौँ पुरानो खरको छानो हावा, पानीले बिस्तारै नष्ट हुँदै गयो। अन्ततः छानो नै उडेर गएपछि घर बस्न नमिल्ने अवस्थामा पुग्यो। घर उजाड बनेपछि अर्जुनका लागि रात बिताउने ठाउँ समेत रहेन। उहाँ आफ्नै आमाको घरको बरन्डामा सुत्न बाध्य हुनुभयो । वर्षात्, चिसो र गर्मी सबै मौसममा बरन्डामै रात बिताउनु उहाँको बाध्यता बनेको छ । एकातिर घरको चिन्ता, अर्कोतिर दुई नाबालक छोराको भविष्यको पीडाले उहाँको मन सधैँ भारी रहन्थ्यो।
पाँच भाइ मध्ये माइलो अर्जुनको परिवार अहिले लगभग एक्लिएको अवस्थामै छ। बुवाको मृत्यु भइसकेको छ भने जेठो दाजु पनि संसारमा हुनुहुन्न । अन्य तीन भाइ रोजगारीका लागि भारतमा छन् । परिवारका सदस्यहरू टाढा भएपछि उहाँलाई साथ दिने र दुःख बाँड्ने मानिसको अभाव छ । अर्जुनको जीवनमा अर्को ठूलो बज्रपात चार वर्षअघि भयो। उहाँको श्रीमती दुई सन्तानलाई छोडेर परपुरुषसँग गएपछि उहाँ थप समस्यामा पर्नुभयो। अहिले उहाँको १३ र ११ वर्षका दुई छोरा छन् । बाबुको कमजोर आर्थिक अवस्था र आमाको अभावबीच ती बालबालिका पनि संघर्षपूर्ण जीवन बिताइरहेका छन्।
दैनिक ज्यालादारी मजदुरी गरेर परिवार चलाउँदै आउनु भएका अर्जुनले आफ्नो कमाइबाट खान, लगाउन र छोराहरूको सामान्य खर्च धान्न पनि मुस्किल हुने गरेको बताउनुहुन्छ । यस्तो अवस्थामा घर मर्मत गर्ने कुरा उहाँका लागि सपना जस्तै बनेको छ । घरको छानो उडेको लामो समयसम्म उहाँले कसैसँग सहयोग माग्न पनि सक्नु भएन । अभावलाई नियति ठानेर बरन्डामै रात काटिरहनु भएका अर्जुनको कथा गाउँका केही स्थानीय बाहेक अरू कसैलाई थाहा थिएन। तर मानवताको भावना अझै समाजमा जीवित छ भन्ने उदाहरण शनिबार देखियो।
दाङको राप्ती गाउँपालिकामा क्रियाशील सामाजिक संस्था आशाका किरण संस्थाले अर्जुनको अवस्थाबारे जानकारी पाएपछि उहाँकै घरमै पुगेर वास्तविक अवस्था बुझ्यो। संस्थाका अध्यक्ष दिवस आचार्य, संस्थापक अध्यक्ष सुर्यकिरण केसी लगायतले उहाँको घरको अवस्था, परिवारको आर्थिक स्थिति र बालबालिकाको आवश्यकताबारे अध्ययन गरेपछि तत्काल सहयोग गर्ने निर्णय गर्यो ।
शनिबार एक कार्यक्रमका बीच संस्थाले अर्जुन परियारलाई घर निर्माणका सामग्री, खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेको छ। संस्थाले ३६ हजार ९ सय ९४ रुपैयाँ बराबरको २२ पाता टिन सेट, दुई सेट विद्यालय पोशाक, दुई जोर जुत्ता–मोजा, पाँच केजी दाल, चार पोका खाने तेल, एक बोरा चामल तथा गद्दा र पातलो कम्बल सहितको बेड सेट प्रदान गरिएको हो। सहयोग सामाग्रीले अर्जुनको घरमा फेरि छानो हाल्ने आधार तयार भएको छ भने उहाँका छोराछोरीलाई विद्यालय जान सहज हुने विश्वास गरिएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा आशाका किरण संस्थाका अध्यक्ष दिवस आचार्यको अध्यक्षता तथा गढवा गाउँपालिका–३ का वडा अध्यक्ष तुलसीराम अधिकारीको प्रमुख आतिथ्यता भएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष अधिकारीले समाजमा रहेका विपन्न, असहाय तथा समस्यामा परेका नागरिकहरूको पहिचान गरी सहयोग गर्न सामाजिक संस्थाहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले स्थानीय सरकार पनि यस्ता नागरिकहरूको समस्या समाधानमा प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।
सहयोग प्राप्त गरेपछि भावुक बनेका अर्जुन परियारले आफूले अब फेरि आफ्नै घरमा बस्ने आशा पलाएको बताउनुभयो उहाँले वर्षौँपछि कसैले आफ्नो पीडा बुझेर सहयोग गरेको भन्दै सहयोगदाता संस्था र सहयोगी सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँका आँखामा खुशीका आँसु देखिन्थे। बरन्डामा बिताएका कठिन रातहरू सम्झँदै उहाँले अब आफ्ना छोराहरूसँग सुरक्षित घरमा बस्न पाउने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा वडा सदस्य विमलकुमार चौधरी, संस्थापक अध्यक्ष सूर्यकिरण केसी, प्रेस संयोजक ओमप्रकाश गुप्ता, उपाध्यक्ष थमन राना, महासचिव लोकमणि भुसाल, सचिव पवित्रा विश्वकर्मा, सदस्यहरू सिर्जना खड्का र कमल आचार्य तथा रोटरी क्लब अफ राप्तीका सदस्य अनिल केसी लगायतको उपस्थिति रहेको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
