तुलबहादुर कवँर मगर
मसुरिया । दाङको राप्ती गाउँपालिका–१ स्थित मछीताल गाउँलाई राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पोषणमैत्री नमुना गाउँका रूपमा छनोट गरिएको छ।
समुदायस्तरमै पोषण सुधार, कुपोषण न्यूनीकरण, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले साे गाउँलाई पोषणमैत्री नमुना गाउँका रूपमा छनोट गरेको हो।
नमुना गाउँ छनोट भएसँगै बिहीबार स्थानीय बासिन्दाका लागि पोषणमैत्री गाउँ निर्माण तथा पोषण सुधारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोषणसम्बन्धी विभिन्न विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा अध्यक्ष विष्टले पोषणयुक्त आहार, सरसफाइ, स्वास्थ्य सेवा तथा स्थानीय स्रोतसाधनको सदुपयोगमार्फत स्वस्थ समुदाय निर्माण गर्न सकिने बताउनुभयो। उहाँले पोषणमैत्री नमुना गाउँ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय समुदाय, जनप्रतिनिधि तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै पोषण सुधारका लागि गाउँपालिकाले आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, लुम्बिनी प्रदेश बहुक्षेत्रीय पोषण संयोजक नरेन्द्र विकले पोषणमैत्री गाउँको अवधारणा, यसको आवश्यकता तथा समुदायस्तरमा गर्नुपर्ने गतिविधिबारे सहजीकरण गर्नुभएको थियो। उहाँले बालबालिका, किशोरी, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्थालाई सुधार गर्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रममा वडा नं. १ का वडा सदस्य पार्वती सुवेदी, रञ्जना सुनाम, लालमटिया स्वास्थ्य चौकी प्रमुख कृष्णप्रसाद श्रेष्ठ, सिनियर अहेब अधिकृत धनबहादुर बुढा क्षेत्री, जनस्वास्थ्य अधिकृत पोषणराज शर्मा, सिनियर अहेब अधिकृत दिपक कुमार कालाथोकी,पशु चिकित्सक प्रदिप चौधरी,सहायक पशु विकास अधिकृत शेरबहादुर हमाल,महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पोषणमैत्री नमुना गाउँ घोषणा भएपछि मछीताल गाउँमा पोषण सुधार, स्वास्थ्य प्रवर्द्धन, सरसफाइ व्यवस्थापन तथा खाद्य सुरक्षासम्बन्धी गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाइने गाउँपालिकाले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
