• १० असार २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिक्षा, व्यवसाय, राजनीति र आदिवासी दर्शन





नवल जीएम

धेरै लामो समयपछि आफ्ना मनका कुराहरू लेख्दै छु। संस्थामा काम गरेको पनि धेरै भइसक्यो। गत वर्ष मात्र मलाई आफ्नो पुरानो विरासत, जाति, भाषा र संस्कृतिका बारेमा केही गर्नुका साथै केही जान्नुपर्छ भन्ने मनमा लाग्यो। अतः म MIED Course मा सहभागी भएँ।

सामान्य रूपमा हेर्दा IPs (आदिवासी/जनजाति) सरल तथा असभ्य जस्ता देखिन्छन्। तर, यसभित्रको दर्शन, अभ्यास, भाषा, कला र संस्कृतिका बारेमा केही जान्न पाउँदा निकै समृद्ध र आत्मविश्वासले पूर्ण भएको महसुस गरेँ। IPs मा प्रकृति र मानवबीचको सम्बन्ध सापेक्षिक (Relative) हुन्छ भन्ने दर्शन निकै तर्कसङ्गत (Rational) लाग्यो। आदिवासी/जनजातिहरू यही कारणले गर्दा हेर्दा सीधा-सादा देखिए पनि कतै न कतैबाट (संस्कार र संस्कृतिमार्फत) IPs जीवन दर्शनले पछ्याएको महसुस भयो। पश्चिमी ज्ञानले प्रकृति र मानवलाई फरक-फरक रूपमा बुझ्छ- मानवले प्रकृतिको दोहन गर्ने, मानवले मानवको शोषण गरी आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृत्ति आजको तथाकथित सभ्य मानव समुदायको मूल मन्त्र जस्तै भइसकेको छ।

आजको यस लेखमा उपनिवेशवादिता (Coloniality) ले कसरी विश्व व्यवस्थालाई कब्जा गरिराखेको छ भन्ने चर्चा गर्नेछु। Coloniality भनेका ती सफ्ट पावर (Soft Power) हुन्, जसको माध्यमबाट पश्चिमीहरूले आज पनि आफ्नो नियन्त्रण कायम गरिरहेका छन्- शिक्षा, वित्त (Finance) र राजनीति। आज पनि हामीले यी तीन सफ्ट पावरमा कुनै न कुनै रूपमा आफ्नो पहिचान राख्न सकेनौँ भने हामीले पराधीनता स्वीकार गरेको ठहरिन्छ। अब यी म्याट्रिक्सलाई दिकोलोनियालिटी (Decoloniality) गर्न सक्नुपर्छ भन्ने मेरो तर्क हो।

IPs दृष्टिकोणमा शिक्षा
आज हामीले आधुनिकताको जुन धारणालाई मान्छौँ, त्यो Coloniality को एउटा हतियार (Tool) हो। Coloniality भनेको- ज्ञान प्रणाली, अर्थतन्त्र, राजनीति र शासन संयन्त्रमार्फत पश्चिमाले अझै पनि विश्व व्यवस्थामा आफ्नो आधिपत्य जमाउनु हो। पश्चिमी भाषा, खानपिन, संस्कार, शिक्षा सबै हाम्रा मोडेल बनेका छन्। उनीहरूकै प्रविधि, ज्ञान प्रणाली र दर्शन प्रयोग गर्दा-गर्दा हामी दासजस्ता भइसकेका छौँ।

प्रत्येक वर्ष हजारौँ युवा विदेश पलायन हुन लालायित हुनु- यो पश्चिमी ज्ञान/आधुनिक शिक्षाकै परिणाम हो। पश्चिमी ज्ञानको राम्रो पक्ष हामीले पढ्नै पर्छ, तर त्यसको आलोचनात्मक अनुसरण गर्नुको सट्टा अन्धोगमन गर्नु नै हामी दास हुनुको कारण हो। आज हाम्रो अर्थतन्त्र, शिक्षा र राजनीति पनि हाम्रै हातमा छैन। हाम्रा पुराना ज्ञान प्रणालीहरू सबै आजका विद्यालय, कलेज र विश्वविद्यालयहरूको ज्ञानमूलक हिंसा (Epistemic Violence) को चपेटामा परेका छन्। व्यवसायको नाममा शोषण चरम छ र आधुनिकताको नाममा आफ्नोपन र पहिचान गुमाउँदै गएको अवस्था हाम्रो छ।

हाम्रो दर्शनमा भएको सिकाइ र सिकाइ पद्धति (Learning Pedagogy) लाई अध्ययन-अनुसन्धान गरी अगाडि बढाउनुको सट्टा आँखा चिम्लेर हामीले पश्चिमी ‘ज्ञान र सीप’ लाई मात्र पछ्यायौँ। हाम्रो शिक्षाले हाम्रो IPs ज्ञान प्रणालीमा भएको गाँजा खेती (Hemp Farming) लाई प्रतिबन्ध गर्‍यो, जसले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको आदिवासी बुनाइ (Weaving) सीप हराएर गयो। यो एपिस्टेमिसैड (Epistemicide- ज्ञानको हत्या) हो। हामीसँग भएको अन्तरबाली खेती (Intercropping Farming) लाई हाम्रो शिक्षाले टेवा दिन सकेन, जसका कारण हामी महँगो विषादी, बीउ र मल किनेर कृषि गरिरहेका छौँ। यी सबैको कारण- शिक्षामा Coloniality नै हो। हालै मात्र मगर समुदायमा गाइने गीत ‘ज्योमरे’ उत्खनन गर्दा Learning Pedagogy भेटियो, जसमा म गर्व गर्छु। यो गीत, कसरी ज्ञान पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुन्छ भन्ने एउटा राम्रो उदाहरण हो।

IPs दृष्टिकोणमा व्यवसाय
आज विश्व व्यवसायलाई हेर्दा हामी के देख्छौँ? कोकाकोला, माइक्रोसफ्ट, अमेजन र इलन मस्कका कम्पनीहरूले मात्र भारतको कुल GDP भन्दा बढी कारोबार गर्छन्। हिजो सेनाले जमिन कब्जा गरी शोषण गर्ने पश्चिमीहरू आज व्यवसायको माध्यमबाट विश्वभरि राज्य गरिरहेका छन्। व्यवसायलाई शुद्ध पैसा कमाउने माध्यमका रूपमा मात्र मानिसहरूले हेर्छन्, तर यो एउटा अन्तरसम्बन्धित सञ्जाल (Interconnected Network) हो। प्रकृति, लगानीकर्ता, ग्राहक र मानव संसाधन (HR) बीच अन्तरसम्बन्ध हुनु आवश्यक छ भनी IPs दर्शनले बताउँछ।

IPs दर्शनमा जसरी मान्छे, नदी, वन र जमिनजस्ता प्राकृतिक तत्त्वहरूलाई आपसमा सापेक्षिक (Relative) मानिन्छ अर्थात् ती सबैमा आत्मा हुन्छ भनी विश्वास गरिन्छ— र एक-आपसमा अन्तरसम्बन्धित (Reciprocal) हुन्छ भनी मानिन्छ, त्यसैगरी एउटा व्यावसायिक इकोसिस्टममा पनि लगानीकर्ता, मानव संसाधन, ग्राहक, बैंक र सरकारका बीचमा Reciprocal Relationship हुनु अनिवार्य छ।

IPs दर्शनको दृष्टिकोणमा पनि सबै एजेन्टहरूको बीचमा दिने र लिने आन्तरिक तथा आपसी सम्बन्ध हुनु जरूरी छ। एउटा एजेन्टले धेरै शोषण गरी अर्को एजेन्टलाई धेरै कमजोर पार्ने खेलले व्यवसाय दिगो हुँदैन, यो शोषणको औजारका रूपमा मात्र सीमित हुन जान्छ।

पश्चिमी ज्ञानले ‘मानवका लागि प्रकृति हो’ भनेर प्रकृतिको अत्यधिक शोषण गर्दा आज पृथ्वी संकटमा छ। IPs ज्ञान र सीपका कुराहरू धेरै प्राकृतिक छन्। यी ज्ञान र सीपहरू दैनिक अभ्यासबाट आएका हुनाले यसले— ‘आफू पनि बचौँ, प्रकृति पनि बचाऔँ’ भनी आग्रह गर्छ। यो सचेत दर्शन आजको पृथ्वीको डरलाग्दो तथा विघटनकारी अवस्थामा निकै उपयोगी छ। यही जीवन दर्शन व्यवसायमा पनि लागू हुन सक्छ भनी म मान्दछु।

IPs दृष्टिकोणमा राजनीति
राजनीति सबै संयन्त्रको केन्द्रमा हुन्छ। यसले एउटा देशको शिक्षा, व्यापार, ज्ञान प्रणाली र न्यायलाई शासन गरिरहेको हुन्छ। विश्व राजनीतिलाई थोरै मात्र नियालेर हेर्‍यौँ भने ‘प्रजातन्त्र’ का नाममा पश्चिमीहरूले हाम्रो राजनीति (शासकीय निकाय) लाई नचाएको स्पष्ट रूपमा बुझ्न सकिन्छ। प्रजातन्त्र कुनै एउटा अचूक मूलमन्त्रका रूपमा विश्वभरि एउटै हुन सक्दैन। किनभने हरेक देशको परिस्थिति र मानव अधिकारको मापन फरक-फरक हुन्छ। हरेक समुदायको आवश्यकता र चाहना फरक-फरक हुनुलाई स्वाभाविक मान्नुपर्छ।

हालको आधुनिक राजनीतिले विकास, आधुनिकता, शिक्षा र वित्तीय प्रणाली सबैलाई पश्चिमाकै अधीनमा पारिदिएको छ। प्रकृति र मानवबीचको Reciprocal Relationship लाई सम्बोधन गर्ने गरी हामीले हाम्रो राजनीति, विकास, आधुनिकता, शिक्षा र वित्तीय प्रणालीलाई पुनः परिभाषित गर्नुपर्छ। अन्यथा अहिलेको राजनीतिले हामीलाई दास र श्रमिक बनाउनेबाहेक कुनै नयाँपन दिँदैन। यो उपनिवेशवादको अर्कै रूप हो। यसले विश्व व्यवस्थालाई थप युद्ध, द्वन्द्व र शोषणतिर लैजाने निश्चित छ।

निष्कर्ष
IPs दर्शनले हामीलाई प्रकृति, मानव, व्यवसाय, शिक्षा र राजनीतिबीचको सन्तुलित र आपसी सम्बन्धको बोध गराउँछ। Coloniality को प्रभावबाट मुक्त भई हाम्रो मौलिक ज्ञान, सीप र दर्शनलाई पुनर्जीवित गर्नु आजको आवश्यकता हो। आत्मविश्वास, आत्मनिर्भरता र सामूहिक हितको भावनाले मात्र हामी साँचो अर्थमा स्वतन्त्र र समृद्ध हुन सक्छौँ।

असार ३, २०८३

Facebook Comments