• ८ असार २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मेरो जीवनको अभिभाज्य अंग- रेडियो




सुशील गौतम

मेरो बाल्यकाल र युवाकाल पञ्चायती कालमा बित्यो । त्यो बेला दाङमा सीमित पत्रपत्रिका त्यो पनि झण्डै एक महिनापछि सर्वाेदय पुस्तकालयमा आउँथ्यो । पत्र–पत्रिका दाङ आइपुग्दा धेरै पुरानो भइसक्ने हुँदा तत्कालै समाचार थाहा पाउने एक मात्र र प्रभावकारी माध्यम रेडियो नै थियो । नेपालमा त्यो बेला अहिलेका जस्ता जता पुगे पनि स्थानिय एफ.एम. थिएनन् । समाचार प्रसारण गर्ने रेडियो नेपाल मात्र थियो । भारतीय रेडियोको प्रसारण दाङमा पनि सुनिने भएकाले अल इन्डिया रेडियोबाट समाचार सुन्न सकिन्थ्यो ।

मैले माथि नै उल्लेख गरेझैं मलाई मेरो प्रारम्भिक बाल्यकालदेखि नै समाचार सुन्ने र पढ्ने अत्यन्त मोह थियो । तर विडम्बना पत्रपत्रिका पढ्न पाउने अवस्था माथि उल्लेख गरेझैं थियो । रेडियो समाचार सबैभन्दा सजिलो र प्रभावकारी माध्यम थियो । तर बिडम्वना जसतसको घरमा रेडियो कहाँ हुनु ? किन्न कहाँ सक्नु ? हाम्रो घर रझेना सदरमुकामसँग जोडिएको, शिक्षा र राजनीतिक चेतनाका दृष्टिले त्यो बेला पनि दाङका अरु ठाउँको तुलनामा राम्रै थियो । आर्थिक दृष्टिले त्यो बेला पनि हाम्रो गाउँमा रझेनाका वासिन्दा मध्यम वा निम्न मध्यम स्तरको परिवार थियो । तर मेरो घरमा मात्र होइन मेरो बाल्यकालमा हाम्रो सिङ्गो गाउँ रझेनामा एउटा घरमा पनि रेडियो थिएन ।

एकातिर ममा अत्यन्तै सानो उमेरदेखि समाचार, सूचना थाहा पाउने रहर अर्कोतिर त्यस्तो असहज परिस्थिति । म भित्रभित्रै छटपट्टिन्थे । त्यो बेला रझेनामा कक्षा ३ सम्म मात्र पढाइ हुन्थ्यो । ३ कक्षा पास भएपछि म ४ कक्षा पढ्न भरतपुरस्थित पद्मोदय पब्लिक हाईस्कूल (अहिलेको उच्च मा.वि. भरतपुर) दाङमा गएँ । खुसीको कुरा त्यहाँ प्रधानाध्यापकको कोठामा एउटा ठूलो रेडियो थियो । रेडियोले दिउँसोको समाचार दिने बेला अफिस कोठाको नजिक गएपछि मज्जाले रेडियो सुन्न सकिन्थ्यो । स्कूलको रेडियोले मेरो रेडियो सुन्ने भोक धेरै हदसम्म पुरा गरिदियो । म नियमित रूपमा अफिस कोठा नजिकै गएर रेडियो सुन्थेँ । रेडियोप्रति यति धेरै मोह भएको मान्छे मैले रेडियोप्रति नै “मूर्खता” गरेको सम्झँदा अहिले अचम्म लाग्छ । २०२१/२२ सालतिर उक्त स्कूलका भारतीय प्रधानाध्यापक विरुद्ध विद्यार्थीहरूको ठूलो आन्दोलन भयो । पञ्चायतकालमा सबै दल, विचार प्रतिबन्धित भए पनि त्यो आन्दोलनको नेतृत्व वामपन्थी विद्यार्थीले गरेका थिए । पारिवारिक वातावरणले गर्दा मलाई ५/६ कक्षामा पढ्दा नै प्रखर रूपमा वामपन्थी चेतना आइसकेको थियो ।

आन्दोलनले उग्ररूप लिँदै गरेको थियो । एकदिन त्यसले निकै ठूलो रूप लियो । विद्यार्थीहरूको ठूलो हुल भरतपुर स्कूलको अफिस कोठामा पस्यो । प्रधानाध्यापकसँग विवाद भयो । त्यसबीच आन्दोलनकारीका नेता देउखुरी निवासी हाल राष्ट्रिय जनमोर्चाका कार्यवाहक केन्द्रीय अध्यक्ष रश्मिराज नेपाली (त्यसबेला उहाँले अधिकारी लेख्नुहुन्थ्यो, पछि आन्दोलनको क्रममा देशभरि पढ्न प्रतिबन्ध लगाएपछि थर लुकाएर नेपाली लेख्न थाल्नुभयो) । उहाँले प्रधानाध्यापकलाई गालामा २ थप्पड हान्नुभयो । राजनीतिक चेतना सहितको मलाई बाल्यकालमा पनि जोस चढेछ क्या हो, मैले आफैले त्यति माया गरेको रेडियोको तार चुँडाइदिएँ । फलस्वरूप त्यो रेडियोबाट समाचार सुन्न लामो अवधिसम्म म वञ्चित भएँ ।

मैले माथि नै उल्लेख गरे हाम्रो घरको त के कुरा हाम्रो सिङ्गो गाउँमा पनि रेडियो थिएन । रेडियो प्रतिको मेरो त्यो भोक, मोह पुरा गरिदिने काम घोराही बजार, त्यो बेला मुख्य बजार भएको क्षेत्रमा (गणेश मन्दिर क्षेत्र, पुरानो बजार) रहेको हरिप्रसाद श्रेष्ठ साहुजी (ज्ञानेन्द्र श्रेष्ठका पिता) को रेडियो थियो । हाम्रा बा सँग उहाँको राम्रो सम्बन्ध थियो । हामी बजार गएको बेला उहाँको पसलको बेन्चमा घन्टौं बस्ने गर्दथ्यौं । हरिप्रसाद श्रेष्ठ साहुजीको एउटा ठूलो रेडियो थियो । त्यो बेला आकारले ठूला रेडियो राम्रा र टाढाबाट पनि सुन्न सकिने हुन्थे । अहिले घोराहीबाट रझेना जाने बाटोदेखि केही उत्तर हरिप्रसाद श्रेष्ठको घरदेखि थोरै पूर्व हाम्रो खेत थियो । घोराही बजारमा अहिले जस्तो हल्लाखल्ला कहाँ हुनु ? पुरै शान्त । म घरबाट रेडियोको समाचार सुन्न करिब १० मिनेट हिँडेर त्यहीँ खेतमा समाचार आउने समयमा रेडियो सुन्न जान्थेँ । साहुजीको रेडियोको आवाज त्यहाँबाट प्रष्ट र ठूलो स्वरमा सुन्न सकिन्थ्यो । मैले लामो समयावधिसम्म उक्त खेतमा बसेर वा साहुजीकै पसलमा बसेर रेडियोको समाचार सुन्ने अवसर पाएको छु । रेडियो त सर्वाेदय पुस्तकालयमा पनि थियो । झण्डै १८/२० इन्च ठूलो “डाँफे रेडियो” तर त्यो प्रायः बिग्रेकोले होला सर्वाेदयको रेडियो मैले खासै सुन्ने मौका पाइनँ ।

मेरो रेडियोको मोहको कुरा गर्दा अर्को बिर्सनै नहुने नाम हो “अर्घाली होटल” । यो होटल अहिलेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नजिकै थियो । त्यहाँ सधैं रेडियो बजिरहन्थ्यो । मेरो समाचार सुन्ने मोह उक्त रेडियोले पनि पुरा गरिदिएको थियो । त्यो रेडियो धेरै ठूलो थिएन । ठिक्कको थियो । बाहिरबाट कपडाको खोल हालेको । बुवा ले मलाई चिया खान हरेक दिन जसो १०/१५ पैसा दिनुहुन्थ्यो । चिया त भरतपुर स्कूल वरिपरि पनि पाइन्थ्यो । तर ती चिया होटलमा रेडियो थिएन । त्यसैले मध्याह्नमा म भरतपुर स्कूलबाट चिया खाने निहुँमा अर्घाली होटलमा आउँथेँ । चिया त निहुँ मात्रै थियो, मुख्य कुरा रेडियोको समाचार सुन्नु थियो । तर कहिलेकाहीँ दिक्क लाग्थ्यो । म होटलमा पस्नासाथ एक गिलास चिया दिनुस् भनी हाल्थेँ । त्यो बेला रेडियो सिलोन निकै लोकप्रिय थियो । कहिलेकाहीँ त्यहाँ रेडियो नेपाल नबजाएर सिलोन रेडियो बजेको बेला म समाचार सुन्नबाट वञ्चित हुन्थेँ । तर साहुजीलाई रेडियो नेपाल बजाउनुस् भन्ने आँट गर्दैनथेँ । त्यस्तो बेला चियाको पैसा त जान्थ्यो नै, चियाको स्वाद पनि केही लाग्दैनथ्यो । समाचार सुन्न नपाएर खिन्न भएर म झोला च्यापेर फेरि स्कूल फर्किन्थेँ र निकै नमज्जा लाग्थ्यो ।

वि.सं. २०३१ साल फागुन २१ गते मेरो विवाहसँगै नेसनल पानासोनिक रेडियो हाम्रो घरमा आयो । तर त्यसबेला म काठमाडौमा पढ्ने गर्दथेँ । त्यसैले तत्कालै मैले उक्त रेडियोको उपयोग गर्न सकिनँ । पाटनको हाम्रो डेरामा कम्युनिस्ट झुकावका विद्यार्थीहरू बेलाबखत आउने गर्दथे । कहिले रेडियो पनि ल्याएर । नजिकको घरमा कहिलेकाहीँ रेडियोमा समाचार बजेको डेराबाट सुनिन्थ्यो । म त्यसैमा चित्त बुझाउन बाध्य थिएँ । फेरि काठमाडौ बस्दा समाचार र सूचनाका लागि रेडियोको मात्र भर पर्नुपर्ने स्थिति थिएन । डेरा नजिकै “शारदा पुस्तकालय” नामक सार्वजनिक पुस्तकालय थियो । त्यो पुस्तकालय सधैं साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने गर्दथ्यो । म त्यस पुस्तकालयमा दैनिक जसो पुस्तकालय खोल्ने बेला पुग्थेँ र धेरैजसो दिन म नै पुस्तकालय बन्द गर्ने बेलाको अन्तिम पाठक हुन्थेँ ।

काठमाडौ पढाइ सकेर फर्किएपछि फेरि रेडियोमा फर्किएँ । घरमै रेडियो भएकाले सुन्न कतै जाने बाध्यता थिएन । त्यो बेला समेत रेडियो सेट राख्न सरकारबाट लाइसेन्स लिनुपर्ने भए पनि विस्तारै रेडियो धेरै घरमा पुग्न थालेका थिए । भारतीय लाहुरेहरू पनि घर फर्किदा रेडियो ल्याउने गर्दथे ।

मैले रेडियोमा समाचार मात्र सुन्ने गर्दथेँ । त्यसैले थारु समुदायका हाम्रो घरमा काम गर्ने मान्छे र बेलाबखत हाम्रो घरमा विभिन्न काम गर्न आउने मान्छेहरूले अचम्म मान्दै भन्थे – “वाजेको रेडियोले किन गीत, गाना बजाउँदैन, सधैं समाचार मात्र भन्छ ?” मैले रेडियो नेपालका साथै भारतका रेडियोबाट नेपाली, हिन्दी, अंग्रेजी, उर्दू, बंगाली र संस्कृत भाषाका समेत समाचार सुन्ने गर्दथेँ ।

२०३३ सालमा “युगवोध” (पाक्षिक) (हालको नयाँ युगबोध दैनिक) पत्रिकाको प्रकाशन सुरु भयो । पत्रिकाको पहिलो अंकदेखि नै मैले “हाम्रो विश्व” नामक स्तम्भ उक्त पत्रिकामा लेख्न थालें, जुन एक पेज पुरै हुने गर्दथ्यो । लेख लेख्नका लागि समाचार र जानकारी आवश्यक हुने नै भयो, जसको लागि रेडियो बाहेक अरु कुनै उपाय नै थिएन । जसले गर्दा रेडियो सुन्ने क्रम झन् बढ्यो । बिहान ५ बजेदेखि साँझ ९/१० बजेसम्म । नेपाली, अंग्रेजी, हिन्दी, त्यतिले नपुगे उर्दू र बंगाली भाषामा आउने रेडियोका समाचार । बिहान सबैभन्दा पहिलो समाचार भ्वाइस अफ अमेरिकाबाट अनि बीबीसी (हिन्दी), रेडियो नेपाल, अल इन्डिया रेडियो (नेपाली सेवा, अल इन्डिया रेडियो हिन्दी समाचार), हरेक घण्टामा आउने बीबीसी विश्व सेवाको अंग्रेजी भाषाको समाचार । अरु कति हो कति ? कतिपयलाई विश्वास नलाग्ला ट्वाइलेट जाँदा, खाना खाँदा जतिखेर पनि रेडियोको समाचार । छोराछोरीहरू आमाको भान्छा, बुबाको रेडियो भन्थे । राति सुत्नेबेला सिरानीमा रेडियो, बिहान उठ्दा त्यहीँ रेडियोको साथ ।

अहिले सूचना र समाचारका लागि रेडियोकै भर पर्ने अवस्था छैन । सूचना र समाचारमा मेरो रुचि त उस्तै छ । तर अहिले त्यो थाहा पाउन थुप्रै माध्यम छन् । तर पनि रेडियो अझै मेरो जीवनको अभिन्न अंग छ । बिहानको सुरुवात ६ बजेको रेडियोको खबरबाट हुन्छ भने साँझ निदाउनुअघि ८:४५ को बीबीसी नेपाली । बीचबीचमा अरु समाचार त छँदैछ । बिहान समाचार र साँझको बीबीसी त अपवाद बाहेक जस्तो परिस्थितिमा पनि अहिले पनि सुन्न छुटाउँदैन । वर्षको ३६५ दिनमध्ये बढी छुटे १५/२० दिन छुट्ला ।

बीबीसी मैले सुन्न थालेको वि.सं. २०२८ देखि हो । त्यसबेला हिन्दीमा । पछि नेपाली सेवा सुरु भएपछि नेपालीमा । यसरी २०२८ सालदेखि २०८२ सम्म अर्थात् ५४ वर्षसम्म मैले सकभर एकदिन नबिराएर बीबीसी सुनिरहेको छु (काठमाडौ पढ्दा करिब २ वर्ष छोडेर) ।

हरेक दिन साँझ ८:४५ मा म विछ्यौनामा पल्टिन्छु । बीबीसी सुन्छु । बीबीसी समाचार ९ बजे सकिन्छ । त्यसको ५/१० मिनेटभित्र म निदाइसक्छु । विगत ५/६ महिना अघि भने मैले साँझ सुत्ने बेला बीबीसी अथवा अन्य कुनै समाचार सुन्न छोडेको थिएँ । किनभने मुलुकको अवस्थाबारे बुढेसकालमा सुत्ने बेलामा तनाव हुने, कहिलेकाहीँ त्यही सपनामा देखिने । तर विगत दुई महिना अघि फेरि म बीबीसीमा फर्केको छु । फेरि सुन्न थालेको छु । किन अनावश्यक तनाव लिने भनेर मन बलियो बनाएको छु ।

मेरो जीवनलाई फर्केर हेर्दा लाग्छ रेडियो र मेरो जीवन एकआपसका अभिन्न अंग नै बनेका छन् ।

Facebook Comments