दाङ । दाङकी चर्चित लोकदोहोरी मोडल नारायणी खत्री १३औँ म्युजिक खबर म्युजिक अवार्डअन्तर्गत ‘उत्कृष्ट लोकदोहोरी महिला मोडल’ विधाको उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल भएकी छन्।
विगत १३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको म्युजिक खबर म्युजिक अवार्डको १३औँ संस्करणका लागि सार्वजनिक गरिएको मनोनयन सूचीमा खत्रीले ‘करिमैले बोल’ गीतबाट स्थान बनाउन सफल भएकी हुन्।
यसअघि उनी म्युजिक खबर म्युजिक अवार्डको ११औँ संस्करणमा उत्कृष्ट लोकदोहोरी महिला मोडलको उपाधि जित्न सफल भएकी थिइन्। यसपटक पनि उनी पुनः सोही विधाको बलियो दाबेदारका रूपमा हेरिएकी छन्। यस विधामा ‘सेतै दुध सेतै चौलानी’बाट करिष्मा ढकाल, ‘मेरो परान’बाट जुना विश्वकर्मा, ‘हिमाली फूल’बाट रविना भण्डारी तथा ‘माया मोह’बाट सुस्मिता गुरुङ उत्कृष्ट पाँचको मनोनयनमा परेका छन्।
आयोजकका अनुसार २०८१ बैशाखदेखि २०८२ असार मसान्तसम्म सार्वजनिक भएका गीत तथा सिर्जनामध्ये उत्कृष्ट स्रष्टा र सिर्जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको हो। विजेता छनोटमा ४० प्रतिशत मत सार्वजनिक भोटिङबाट र ६० प्रतिशत मत निर्णायक मण्डलको मूल्याङ्कनबाट निर्धारण गरिनेछ। यहि असार १४ गतेमा सम्पन्न हुने अवार्ड कार्यक्रम शुभकामना मिडिया सोलुसनको आयोजनामा तथा म्युजिक खबरको प्रस्तुतिमा हुँदै आएको छ।
नेपाली संगीत क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा स्थापित यस कार्यक्रममा उत्कृष्ट पाँचमध्ये एक जनाले उपाधि चुम्नेछन्। यसैबीच, नारायणी खत्रीले सामाजिक सञ्जालमार्फत आफूलाई भोट गरी सहयोग गर्न शुभेच्छुक तथा दर्शकसमक्ष अपिल गरेकी छन्। ११औँ संस्करणको विजेता भइसकेकी खत्रीलाई यसपटक पनि उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
