• ५ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अत्यधिक बिदाले नेपालको शिक्षा प्रणाली संकटमा, आइतबार र गर्मी बिदाप्रति असन्तुष्ट भट्टराई




दाङ। नेपालको शिक्षा प्रणालीमा पछिल्लो समय बढ्दै गएको बिदा संस्कृतिले शैक्षिक गुणस्तरमा गम्भीर असर पार्ने चिन्ता व्यक्त गरिएको छ। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषता बोकेको नेपालमा विभिन्न पर्व, उत्सव, धार्मिक तथा जातीय अवसरमा दिइने सार्वजनिक बिदाका कारण विद्यालयमा पठनपाठन प्रभावित भइरहेको भन्दै राप्ती गाउँपालिका निवासी मतिराम भट्टराईले आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्।

भट्टराईका अनुसार नेपालमा वर्षभरि दशैँ, तिहार, माघी, उधौली, उभौली, ल्होसार लगायत विभिन्न जातीय तथा धार्मिक पर्वका अवसरमा बिदा दिइन्छ। यसका अतिरिक्त वर्षे बिदा, जाडो बिदा, गर्मी बिदा, स्थानीय तहले घोषणा गर्ने विशेष बिदा, प्रदेश सरकारका बिदा तथा संघीय सरकारले तोक्ने सार्वजनिक बिदाले विद्यालय सञ्चालनका दिनहरू निरन्तर घट्दै गइरहेका छन्।

उनले विशेषगरी संघीय सरकारले लागू गरेको आइतबार बिदा र स्थानीय तहबाट घोषणा गरिने लामो गर्मी बिदाप्रति असन्तुष्टि जनाउँदै यसले विद्यार्थीको सिकाइ उपलब्धिमा नकारात्मक प्रभाव पार्ने बताएका छन्।

भट्टराईले भने, “नेपाल विविध भाषा, धर्म, संस्कृति र जातजातिको साझा फूलबारी हो। यहाँ सबै समुदायको पहिचान र संस्कृतिको सम्मान हुनुपर्छ। तर शिक्षा क्षेत्रलाई कमजोर बनाउने गरी अत्यधिक बिदा दिनु उपयुक्त होइन। विद्यार्थीले विद्यालयमा बिताउने समय घट्दै जाँदा शिक्षाको गुणस्तरमा प्रत्यक्ष असर पर्न सक्छ।”

उनको भनाइमा विकसित राष्ट्रहरूले शिक्षा क्षेत्रमा निरन्तरता, अनुशासन र प्रभावकारी सिकाइलाई प्राथमिकता दिएका कारण शैक्षिक उपलब्धि उच्च रहेको देखिन्छ। नेपालमा भने विभिन्न तहका सरकारबाट छुट्टाछुट्टै बिदा घोषणा हुँदा विद्यालय सञ्चालनका दिनहरू अपेक्षाकृत कम हुने गरेको उनको तर्क छ।

शिक्षाविद्हरूले पनि विद्यालयमा नियमित पठनपाठन, शिक्षक–विद्यार्थीको उपस्थिती तथा शैक्षिक गतिविधिको निरन्तरताले मात्र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिने बताउँदै आएका छन्। लगातार बिदा हुँदा विद्यार्थीको अध्ययन लय बिग्रने, पाठ्यक्रम पूरा गर्न कठिन हुने र सिकाइ उपलब्धि कमजोर बन्ने जोखिम रहने उनीहरूको भनाइ छ।

राप्ती गाउँपालिकाले हाल घोषणा गरेको गर्मी बिदा र संघीय सरकारले कार्यान्वयन गरिरहेको आइतबार बिदा प्रणालीप्रति असन्तुष्टि जनाउँदै भट्टराईले शिक्षा क्षेत्रको दीर्घकालीन हितलाई ध्यानमा राखेर बिदा व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

उनले शिक्षा राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै विद्यार्थीको भविष्यसँग जोडिएको विषयमा सरकारका तीनै तह गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे। “संस्कृति संरक्षण आवश्यक छ, तर शिक्षाको गुणस्तर झन् महत्वपूर्ण विषय हो। अत्यधिक बिदाले भविष्यका जनशक्तिलाई प्रतिस्पर्धी बनाउन सक्दैन,” उनले बताए।

भट्टराईले प्रस्तुत गरेको धारणा अहिले शिक्षा क्षेत्रमा बिदा व्यवस्थापन, सिकाइ अवधि र शैक्षिक गुणस्तरबारे भइरहेको बहससँग पनि जोडिएको देखिन्छ। शिक्षा प्रणालीलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन बिदा तथा पठनपाठनबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता रहेको उनको निष्कर्ष छ।

Facebook Comments