नेपाल कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गर्नुभएको छ।
बिहीबार सार्वजनिक गर्नुभएको वक्तव्यमा महराले विगत करिब ४५ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण, उतारचढाव, संघर्ष र परिवर्तनका यात्रामा निरन्तर सहभागी हुँदै आउनुभएको उल्लेख गर्नुभएको छ। उहाँले आफ्नो जीवनको महत्वपूर्ण समय पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गर्नुभएको बताउनुभएको छ।

महराले केही वर्षयता आफू एट्रोफी (Atrophy) सम्बन्धी रोगबाट पीडित रहनुभएको र नसासम्बन्धी तथा मांसपेशी कमजोर हुँदै जाने समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको बताउनुभएको छ। स्वास्थ्य अवस्थाका कारण पार्टीका नियमित गतिविधि तथा जिम्मेवारीमा विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन हुँदै गएको उहाँले उल्लेख गर्नुभएको छ।
उहाँले यही यथार्थलाई आत्मसात् गर्दै आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गर्नुभएको जानकारी दिनुभएको छ। यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम भएको स्पष्ट पार्नुभएको छ।
वक्तव्यमा महराले पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण तथा नेपालको राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका पक्षमा आफू सधैँ इमानदार र प्रतिबद्ध रहने बताउनुभएको छ। शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहने उहाँको भनाइ छ।
उहाँले नयाँ पुस्ताका ऊर्जावान युवाले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उनीहरूको सफलतामै आफ्नो पुस्ताको संघर्ष र योगदानको सार्थकता रहने उहाँले बताउनुभएको छ।
महराले लामो राजनीतिक यात्रामा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
