• ३ असार २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह तथा १८औँ सभा




सुर्खेत । स्थापना दिवसकै शुभ साइत पारेर आयोजित मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह तथा १८औँ सभा बैठक सम्पन्न भएको छ ।

वीरेन्द्रनगर, सुर्खेतस्थित विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसरमा आयोजित सो समारोह एवं सिनेट बैठकको अध्यक्षता गर्नुभएका नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले कर्णालीमा अवस्थित विश्वविद्यालयका लागि आवश्यक पूर्वाधार, बजेट तथा दरबन्दीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बदलिँदो विश्व परिवेशमा आफूलाई निरन्तर पुनर्मूल्याङ्कन र पुनर्संरचना गर्न आवश्यक भएकोमा जोड दिनुभयो । मन्त्री पोखरेलले मध्यपश्चिम विश्वविद्यालयले सिङ्गो कर्णाली प्रदेशको शैक्षिक रूपान्तरणको नेतृत्व लिनुपर्ने बताउनुभयो ।

विश्वविद्यालय स्थापना भएको डेढ दशकमा अपेक्षित फड्को मार्दै विश्वविद्यालय द्रुततर गतिमा अघि बढेकोमा मन्त्री पोखरेलले सराहना गर्नुभयो ।

सिनेट बैठकलाई विशेष सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले जनताको दशकौँ लामो संघर्षबाट स्थापित विश्वविद्यालयको विकास र विस्तारमा तीन तहकै सरकारको दायित्व सम्झी विश्वविद्यालय अवस्थित स्थानीय सरकार र प्रदेश सरकारले सहयोगको सुरुआत गरेको बताउनुभयो ।

दीक्षान्त समारोहका प्रमुख वक्ता त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद् केदारभक्त माथेमाले उच्च शिक्षाले केवल व्यक्तिको जीवनस्तर मात्र परिवर्तन नगरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउने भएकाले यस क्षेत्रका उच्च शिक्षा प्रदायक संस्थाको विकासमा सरकारसहित सरोकारवाला सबैको उत्तिकै साथ र सहयोग रहिरहने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालय स्थापनार्थ उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलको योगदानलाई स्मरण गर्दै माथेमाले विश्वविद्यालय स्थापनाका एक अभियन्ता नै उपकुलपतिजस्तो प्रमुख कार्यकारी नेतृत्वमा आएकोमा सन्तोष व्यक्त गर्नुभयो ।

उहाँले सहभागी सम्पूर्णलाई साक्षी राख्दै आफ्नो देश र समाजलाई कहिल्यै नबिर्सन दीक्षित विद्यार्थीहरूलाई अपिल गर्नुभयो ।

सहकुलपति पोखरेलले समारोहका अवसरमा विभिन्न ग्र्याजुएट स्कूलका १,९२८ विद्यार्थीहरूलाई दीक्षित गर्नुका साथै उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई विभिन्न पदक वितरण गर्नुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. पौडेलले सभामा स्वागत मन्तव्यसँगै आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम र समारोहमा दीक्षान्त मन्तव्य राख्नुभएको थियो भने सभाका सदस्य–सचिव रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीले सिनेट बैठकसँगै दीक्षान्त समारोहको सञ्चालन गर्नुभएको थियो ।

१८औँ सिनेट बैठकमा दीक्षित हुने विद्यार्थीहरूको ग्रेसलिस्ट पारित गर्नुका साथै रजिष्ट्रार सहप्रा. डा. अयडीद्वारा प्रस्तुत आ.व. २०८३/०८४ को बजेट तथा कार्यक्रमसम्बन्धी प्रस्ताव आवश्यक संशोधनसहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

Facebook Comments