• ३ असार २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एशियन वर्ल्ड स्कूलको प्रवन्ध निर्देशकमा डा. कृष्णराज डिसी नियुक्त




घोराही । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित एशियन वर्ल्ड स्कूलको प्रवन्ध निर्देशकमा डा. कृष्णराज डिसी नियुक्त हुनुभएको छ । विद्यालयको शैक्षिक गुणस्तरलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी डा. डिसीलाई प्रवन्ध निर्देशकको जिम्मेवारी प्रदान गरेको हो ।

नवनियुक्त प्रवन्ध निर्देशक डा. कृष्णराज डिसीले एशियन वर्ल्ड स्कूलसँग आफ्नो लामो समयदेखिको सम्बन्ध रहेको स्मरण गर्दै  २०५९ सालदेखि आफू विद्यालयको शेयर सदस्यका रूपमा आबद्ध रहेको बताउनुभयो । अहिले विद्यालयको नेतृत्वदायी भूमिकामा जिम्मेवारी प्राप्त गर्न पाउँदा गौरवान्वित महसुस भएको उहाँको भनाइ थियो ।

पछिल्लो समय एशियन वर्ल्ड स्कूलका सकारात्मक पक्षहरूबारे समाजमा चर्चा हुन थालेको उल्लेख गर्दै डा. डिसीले विद्यालयलाई नामअनुसारकै उत्कृष्ट र नमूना संस्थाका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
“शैक्षिक उन्नति, गुणस्तरीय शिक्षा र विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर काम गर्नेछौँ,” उहाँले भन्नुभयो, “यो विद्यालयलाई जिल्लाकै उत्कृष्ट र एशियाकै नमूना विद्यालय बनाउने लक्ष्यका साथ अगाडि बढ्नेछौँ ।”

विद्यालयका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रप्रकाश खनालले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित विद्यालयको व्यवस्थापन पक्षलाई थप प्रभावकारी बनाउन डा. डिसीलाई प्रवन्ध निर्देशकको जिम्मेवारी दिइएको बताउनुभयो । उहाँले डा. डिसी सामुदायिक विद्यालयको सुधार र शैक्षिक विकासमा लामो अनुभव हासिल गर्नुभएको दक्ष र क्षमतावान व्यक्तित्व भएको उल्लेख गर्नुभयो । नयाँ व्यवस्थापन र नयाँ सोचका साथ सञ्चालनमा आएको विद्यालयले गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रबहादुर बस्नेतले शिक्षा समाज रुपान्तरणको महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले समाज परिवर्तन व्यक्तिगत प्रयासभन्दा पनि संस्थागत पहलबाट सम्भव हुने भएकाले विद्यालय क्षेत्रबाटै सकारात्मक परिवर्तनको अभियान अगाडि बढाइएको उल्लेख गर्नुभयो । बालबालिकाको भविष्य निर्माणमा विद्यालयको भूमिका महत्वपूर्ण हुने बताउँदै अध्यक्ष बस्नेतले विद्यालयको योजना र उद्देश्यलाई सफल बनाउन सबै पक्षले साझा जिम्मेवारीका रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । मेहनत, इमान्दारी र प्रतिबद्धताका साथ अगाडि बढेमा विद्यालयलाई अझ उत्कृष्ट बनाउन सकिने उहाँको भनाइ थियो ।

विद्यालयका सहायक प्रिन्सिपल कुलबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयकी प्रिन्सिपल शान्तिदेवी हमाल, बोर्ड सदस्य डा. प्रकाश सुवेदी, फाइनान्स डाइरेक्टर शिशिर सुवेदी, डा. नवीन बोहरा तथा योजना निर्देशक वसन्त रिजालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उहाँहरूले विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा थप प्रगति र उन्नयनका लागि सञ्चालक टिम, शेयर सदस्य, विद्यालय व्यवस्थापन समिति, प्रशासन, शिक्षक तथा कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका सिइओ चन्द्रप्रकाश खनालले गर्नुभएको थियो ।

Facebook Comments