• १ असार २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सामूहिक प्रयासबाट मात्रै देशलाई सही दिशामा लैजान सकिन्छ : सहमहामन्त्री आचार्य




घोराही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्यले सबैको सामूहिक प्रयासबाट मात्रै देशलाई सही दिशामा अघि बढाउन सकिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले सोमबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उहाँले देश निर्माण कुनै एक व्यक्ति वा दलको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमका प्रमुख वक्तासमेत रहनुभएका सांसद आचार्यले सरकार गठन भएको छोटो समयमै चमत्कारिक परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक नहुने बताउनुभयो । उहाँले देश लामो समयदेखि विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै सरकार गठन भएको पहिलो छ महिनादेखि एक वर्षभित्र देश सही दिशातर्फ अघि बढ्दै गरेको अनुभूति नागरिकले गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउनु सरकारको प्रमुख दायित्व भएको बताउँदै अहिलेको सरकार कुनै एउटा पार्टीको मात्र नभई सम्पूर्ण नेपाली नागरिकको सरकार भएको स्पष्ट पार्नुभयो ।

“सरकार असफल हुँदा राजनीतिक रूपमा केही पक्षलाई फाइदा होला, तर देशले सधैं हार्छ,” उहाँले भन्नुभयो, “यो कठिन परिस्थितिमा सबैको सामूहिक प्रयास भयो भने मात्र हामीले देशलाई सही ट्र्याकमा लैजान सक्छौं ।”
सांसद आचार्यले प्रतिनिधिसभा सदस्यको सीमित जिम्मेवारीभित्र रहेर दाङ, लुम्बिनी प्रदेश र समग्र देशको हितमा आफूले काम गरिरहेको बताउनुभयो ।
रास्वपाको तर्फबाट बनेको सरकारले गरेका कामलाई गुण र दोषका आधारमा मूल्यांकन गर्दै सञ्चार क्षेत्रले सकारात्मक र तथ्यपरक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । राम्रा कामको उचित सम्प्रेषणले नागरिकमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै उहाँले आवश्यक खबरदारी निरन्तर हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि पाण्डव शर्मा, महासंघ दाङका पूर्व अध्यक्षद्वय प्रताप रेग्मी र केवी मसाल, रास्वपाका केन्द्रीय सदस्य अनन्तराज घिमिरे तथा जिल्ला सचिव असिम भुषाललगायतको उपस्थिति रहेको थियो ।

महासंघ दाङका उपाध्यक्ष उपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासंघका सचिव जेएन सागरले गर्नुभएको थियो ।

Facebook Comments