दाङ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह (क) को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २–१ गोलान्तरको रोमाञ्चक जित हासिल गरेको छ।
मेक्सिकोको ग्वाडालाजारास्थित रङ्गशालामा निर्धारित ९० मिनेटको खेलपछि थपिएको ६ मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट थप कुनै गोल हुन नसकेपछि दक्षिण कोरियाले जित सुनिश्चित गरेको हो।
खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले गोल गर्न सकेनन्। यस्तै, पहिलो हाफ शून्य-शून्यमै सकियो।
यसैबिच, खेलको ५९ औं मिनेटमा चेक रिपब्लिकका खेलाडी भ्लादिमिर कुफालले प्रहार गरेको लामो थ्रो-इन सिधै कोरियाली पेनाल्टी क्षेत्रमा पुगेको थियो। कोरियाली खेलाडीले बल बाहिर फाल्न सङ्घर्ष गरिरहेका बेला चेक रिपब्लिकका खेलाडी लादिस्लाभ क्रेइचीले उत्कृष्ट हेडरमार्फत गोल गर्दै चेक रिपब्लिकलाई १–० को अग्रता दिलाए।
चेक रिपब्लिकको यो अग्रता धेरै समय टिक्न सकेन। खेलको ६७ औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ इन–बियोमले विपक्षी टोलीका दुई रक्षापङ्क्तिका खेलाडी र चेक गोलरक्षकलाई छक्काउँदै गरेको प्रहार गोलमा परिणत भयो। यो सँगै दक्षिण कोरियाले खेललाई १–१ को बराबरीमा फर्कायो।
खेलको ७९ औं मिनेटमा दक्षिण कोरियाका वैकल्पिक खेलाडी ओ ह्यान–ग्युले ह्वाङ इन–बियोमको पासमा आकर्षक गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। खेलको अन्तिम समयमा र थपिएको ६ मिनेटमा चेक रिपब्लिकले खेल बराबरी गर्ने प्रयास गरे पनि दक्षिण कोरिया खेलाडीले त्यसलाई असफल तुल्याए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
