दाङ । चार वर्षको प्रतीक्षापछि फिफा विश्वकप फुटबलको २३औँ संस्करण आजबाट सुरु हुँदैछ। पहिलोपटक तीन राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह–आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन्।
मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलोपटक ४८ टोली सहभागी छन्। यसअघि विश्वकपमा ३२ टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए। समूह ‘ए’ मा रहेका मेक्सिको र दक्षिण अफ्रिका दुवै विजयी सुरुआत गर्ने लक्ष्यमा छन्। यसअघि सन् २०१० को विश्वकपको उद्घाटन खेलमा पनि यी दुई टोली भिडेका थिए। उक्त खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
मेक्सिको सन् १९९४ यता विश्वकपको पहिलो खेलमा पराजित भएको छैन। यो उसको १८औँ विश्वकप सहभागिता हो। विश्वकपको उपाधि जित्न नसके पनि मेक्सिकोले सर्वाधिक ६० खेल खेलेको छ। मेक्सिकोको उत्कृष्ट प्रदर्शन सन् १९७० र १९८६ मा घरेलु मैदानमा भएको विश्वकपमा क्वाटरफाइनलसम्म पुग्नु हो।
दक्षिण अफ्रिकाले भने चौथोपटक विश्वकपमा सहभागिता जनाउँदैछ। हालसम्म विश्वकपमा नौ खेल खेलेको दक्षिण अफ्रिकाले दुई खेल जितेको छ। सन् २०१० पछि पहिलोपटक विश्वकपमा फर्किएको दक्षिण अफ्रिका उद्घाटन खेलबाट सुखद सुरुआत गर्ने लक्ष्यमा छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
