दाङ। नेपाल विद्यार्थी संघ बंगलाचुलीले एसइई २०८२ मा सहभागी भई उत्तीर्ण भएका बंगलाचुली गाउँपालिकाका विद्यार्थीलाई सम्मान गरेको छ। मंगलबार कमिरेचौरमा आयोजित एक कार्यक्रममार्फत विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
नेपाल विद्यार्थी संघ बंगलाचुलीका पालिका अध्यक्ष जीवन अधिकारीको सभापतित्व तथा नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाका सभापति जागेश्वर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जागेश्वर अधिकारीले एसइई उत्तीर्ण गर्नु विद्यार्थी जीवनको महत्वपूर्ण उपलब्धि भएको बताउँदै यस सफलतालाई निरन्तर अध्ययन, अनुशासन र मेहनतमार्फत अझ ठूलो उपलब्धिमा रूपान्तरण गर्न आग्रह गरे। उनले देशको भविष्य विद्यार्थीहरूको काँधमा रहेको उल्लेख गर्दै शिक्षा, सीप र सकारात्मक सोचका माध्यमबाट समाज तथा राष्ट्र निर्माणमा योगदान दिनुपर्ने बताए।
अध्यक्ष जीवन अधिकारीले ग्रामीण क्षेत्रका विद्यार्थीहरूले सीमित स्रोत–साधनका बीच पनि उत्कृष्ट नतिजा हासिल गरेको भन्दै उनीहरूको मेहनतको प्रशंसा गरे। उनले आगामी दिनमा उच्च शिक्षा हासिल गरी सक्षम, जिम्मेवार र नैतिक नागरिक बन्न विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरे।
कार्यक्रममा नेपाल कांग्रेस बंगलाचुलीका उपसभापति इन्द्रमणी वली, सचिव चेतप्रसाद डाँगी तथा नेपाली कांग्रेस बंगलाचुली–४ का सभापति शिवराज परियारले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा एसइई २०८२ मा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण पालिका प्रवक्ता बालकृष्ण पाण्डेले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
