दाङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमको प्रथम ऐतिहासिक अधिवेशन राजनीतिक गतिविधिसँगै सांस्कृतिक उत्सवका रूपमा पनि सम्पन्न भएको छ। अधिवेशनमा चर्चित लोक तथा दोहोरी गायिका भुमिका गिरीको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको थियो।
आइतबार मुसिकोट खलंगामा आयोजित कार्यक्रममा राजनीतिक भाषण र संगठनात्मक गतिविधिपछि गायिका गिरीले आफ्नो लोकप्रिय गीतहरू ‘चोली मैलो भो’, ‘तारासँगै जून’ र ‘न रिसाउन सानो कुरैमा’ प्रस्तुत गर्दै उपस्थित कार्यकर्ता तथा समर्थकलाई भरपुर मनोरञ्जन दिइन्। लामो समयसम्म भाषण सुनेर बसेका सहभागीहरू गीत–संगीतमा रमाउँदा कार्यक्रमस्थल थप उत्साहपूर्ण बनेको थियो।
सांगीतिक प्रस्तुतिका क्रममा गायिका भुमिका गिरीले कलाकार र राजनीतिको सम्बन्धबारे पनि आफ्नो धारणा राखिन्। उनले कलाकार कुनै राजनीतिक दल विशेषको नभई कला, संस्कृति र समाजको प्रतिनिधि हुने बताउँदै सम्मानपूर्वक निमन्त्रणा प्राप्त हुने जुनसुकै मञ्चमा पुग्नु आफ्नो लागि सम्मानको विषय भएको बताइन्।
उनले आम नागरिक राजनीति बाट जति टाढा रहन खोजे पनि राजनीतिक निर्णय र नीतिहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सबैको जीवनलाई प्रभावित गर्ने भएकाले राजनीति प्रति चासो राख्नु आवश्यक रहेको धारणा व्यक्त गरिन्। “राजनीति भनेको नेताहरूको मात्र विषय होइन, यो हरेक नागरिकको दैनिक जीवनसँग जोडिएको विषय हो,” उनले भनिन्।
भुमिकाले कलाकारहरू समाजका संवाहक र जनभावनाका प्रतिनिधि भएकाले सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिबारे जानकार र सचेत हुनुपर्ने बताइन्। उनले कला र संस्कृतिले समाजलाई जोड्ने काम गर्ने उल्लेख गर्दै स्वस्थ राजनीतिक अभ्यासले देशको विकास र नागरिकको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्।
“कलाकारको काम मनोरञ्जन मात्र होइन, समाजलाई सकारात्मक सन्देश दिनु पनि हो,” उनले भनिन्, “त्यसैले नागरिक र कलाकार दुवैले समाज र राष्ट्रसँग जोडिएका विषयमा चासो राख्नुपर्छ।”

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
