• २३ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
व्यवसायी पनि स्वयं सचेत र जिम्मेवार बन्नुपर्छ : अध्यक्ष जोशी




घोराही । व्यवसायीले आफ्नो कर्तव्य इमान्दारीपूर्वक पूरा गरे बजार अनुगमनबाट डराउनुपर्ने अवस्था नआउने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष  वसन्त जोशीले बताउनुभएको छ।

गल्ला तथा किराना व्यवसायी समिति घोराही, दाङको १४औँ साधारणसभा तथा पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै स्वो बताउनु भयो ।

समितिका अध्यक्ष बिनोद प्रसाद पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै जोशीले दाङ जिल्ला उद्योग वाणिज्य संघअन्तर्गत रहेका विभिन्न वस्तुगत समितिमध्ये गल्ला तथा किराना व्यवसायी समिति सक्रिय र प्रभावकारी रूपमा अघि बढिरहेको बताउनुभयो।

उहाँले बजार अनुगमनका क्रममा व्यवसायीले केही सास्ती भोग्नुपरेको स्वीकार गर्दै जिल्ला प्रशासन, स्थानीय सरकार तथा अन्य सरकारी निकायबाट हुने अनुगमनका कारण कहिलेकाहीँ व्यवसाय सञ्चालनमा कठिनाइ हुने गरेको उल्लेख गर्नुभयो। तर अयोग्य वा गुणस्तरहीन वस्तु फेला परेमा त्यस्ता सामग्री जफत गर्नुपर्ने र त्यसबाट भएको क्षतिको जिम्मेवारी सम्बन्धित उद्योग वा उत्पादक पक्षले लिनुपर्ने धारणा राख्नुभयो।

 

जोशीले लेबल, प्याकिङ तथा उत्पादन वा उपभोग्य मिति उल्लेख नभएका वस्तु बिक्री गर्नु व्यवसायीको कमजोरी हुने बताउँदै अनुगमन गर्ने निकायलाई मात्र दोष दिनुभन्दा व्यवसायी स्वयं पनि सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले पाँचौँ अधिवेशनबाट संस्थालाई समय दिन सक्ने, व्यवसायीहरूको हितमा काम गर्ने र संस्थालाई अझ उचाइमा पुर्‍याउन सक्ने सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै नयाँ कार्यसमितिलाई अग्रिम शुभकामना समेत दिनुभयो।

 

 

विशिष्ट अतिथि समेत रहनु भएका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले खाद्य अनुगमनका क्रममा व्यवसायीलाई तर्साउनेभन्दा सचेतना र सुझाव दिने उद्देश्य रहने बताउनुभयो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले कैफियतयुक्त खाद्यवस्तु फेला परेमा आवश्यक कारबाही गरिने उहाँको भनाइ थियो।

 

संस्थापक अध्यक्ष नारायण भुसालले नापतौल परीक्षणका लागि अझै पनि व्यवसायी नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै दाङमै त्यस्तो सेवा उपलब्ध गराउन पहल गर्नुपर्ने बताउनुभयो।

 

व्यवसायीलाई पलायन गराउने खालको अनुगमनभन्दा व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने कार्यक्रम आवश्यक रहेको उहाँले धारणा राख्नुभयो।

 

उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनारले दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिमा व्यवसायीहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। अनुगमन कुनै व्यक्ति विशेषलाई लक्षित नभई सरकारको नीति तथा निर्देशनअनुसार हुने स्पष्ट पार्दै उहाँले अनुगमनको उद्देश्य तर्साउने नभई सचेत गराउने रहेको बताउनुभयो।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ध्रुव भारी, दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपाने, राप्ती अञ्चल लिकर्स एसोसिएसनका अध्यक्ष हिमाल न्यौपाने, रेडिमेड तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष हरि घिमिरे, राप्ती अञ्चल बजार प्रतिनिधि संघका अध्यक्ष नवराज सापकोटा तथा तुलसीपुर गल्ला तथा किराना व्यवसायी समितिका अध्यक्ष कालु जैशी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

अधिवेशनमा सचिव र कोषाध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। यस अवसरमा सफल व्यापारीको रूपमा घोराही–१४ स्थित बन्जाडे किराना पसलका सञ्चालक सिताराम बन्जाडे लाई सम्मान गरिएको थियो। साथै समितिलाई कलममार्फत सहयोग पुर्‍याएको भन्दै पत्रकार गोविन्द्र खड्का लाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन सचिव सुरज सुवेदीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष गोपाल खनालले व्यक्त गर्नुभएको थियो।

 

Facebook Comments