• २२ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विश्व वातावरण दिवस: घोराहीमा वातावरण संरक्षण सम्बन्धी अन्तरक्रिया सम्पन्न




घोराही । दाङको घोराहीमा जिल्लाको पर्यावरण सम्बन्धमा अन्तरक्रिया  एवं छलफल कार्यक्रम सम्पन्न भएको छ ।  `विश्व वातावरण दिवस २०८३´ को  अवसरमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र घोराहीको आयोजनामा शुक्रबार घोराहीस्थित होटल माला इनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो  । विसं २०४८ सालमा स्थापना भएको यस संस्थाले जिल्लामा वातावरण संरक्षणका विभिन्न कामहरू गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष कमल गौतमको अध्यक्षता एवं जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले यस संस्थाले घोराहीको सहरलाई स्वच्छ र सफा बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले संस्थाले दाङमा मात्र नभएर अन्य जिल्लामा पनि वातावरण संरक्षणका लागु थुप्रै काम गरेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक लगायतका  क्षेत्रमा काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । वातावरण मानिसको प्रत्यक्ष जीवनसँग जोडिएको हुँदा जैविक विविधता कायम गर्न र वातावरण संरक्षणका लागि सम्पूर्ण सम्बन्धित निकायले काम गर्नुपर्नेमा उहाँको जोड थियो । वातावरण सन्तुलन कायम गर्न प्लास्टिक झोला प्रयोगलाई निरुत्साहित गर्नका लागि जिल्ला दशवटै पालिकामा अभियान चलाउनुपर्ने उहाँले बताउनुभयो  ।

घोराही उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख मदन वलीले वातावरणीय संरक्षणका लागि निजी तथा सामुदायिक वनमा वृक्षारोपण गर्दै आइरहेको बताउनुभयो ।  उहाँले वातावरण संरक्षणका लागि मानिसहरूमा शिक्षा र जनचेतनाको अभावले नै वातावरणीय प्रदूषण बढ्दै गएको उल्लेख गर्दै यस विषयमा विशेष ध्यानदिनुपर्नेमा जोड दिनुभयो । वातावरण संरक्षण र सन्तुलनका लागि जल, जमिन र आकाश उत्तिकै महत्त्वपूर्ण भूमिका रहने भएको हुँदा त्यसका लागि जलमा माछा, जमिन रुख र आकाशमा पञ्छि हुनुपर्ने उहाँको भनाइ थियो ।

संस्थाका कार्यकारी निर्देशक प्रदीप मजगैंयाले कार्यक्रमको बारेमा विषय प्रवेश गराउँदै संस्थाले आफ्नो स्थापना कालदेखि नै दाङको वन, वातावरण, शिक्षा लगायतका क्षेत्रमा निरन्तर  काम गर्दै आइरहेको बताउनुभयो । उहाँले मावन कल्याणले दाङमा चुरे संरक्षण, वृक्षारोपण, मानव निर्मित ताल र पोखरी, राप्ती जलाधार संरक्षण, वन संरक्षण र वन डडेलो नियन्त्रण, विद्यालयस्तरीय जलवायु शिक्षा, घोराही – तुलसीपुरमा हरित सहर अभियान, स्थानीय सरकारको जलवायु अनुकूल निर्माणमा सहयोग तथा वातावरण संरक्षण र जैविक विविधता संरक्षण नीति निर्माणको क्षेत्रमा विशेष कार्यक्रम गरेको समेत स्पष्ट पार्नुभएको थियो ।

संस्थाका संस्थापक अध्यक्ष श्रीमण न्यौपाने, संस्थाकी निवर्तमान अध्यक्ष निर्मला गौतम,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठले वातावरण संरक्षण समस्या पहिचान र त्यसको न्यूनीकरणका लागि आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

त्रिभुवन जिसिजका अध्यक्ष मिनराज भाट, संस्थाका कार्यसमिति सदस्य महेन्द्र कुमार न्यौपाने, घोराही -१५ मिलन केन्द्र निवासी उमाकान्त भण्डारी लगायतले बजारमा देखिने प्लास्टिक, सिसा, सिमेन्ट उद्योगको धुवाँ, वन डडेलो वातावरण संरक्षणको मुख्य चुनौतीको रुपमा रहेको बताउनुभएको थियो । स्वच्छ र स्वस्थ वातावरण निर्माणका लागि स्थानीय तह, हरेक क्षेत्रका सम्बन्धित समुदायमा नै अभियान चलाउनुपर्ने उहाँहरुको भनाइ थियो ।

हरेक वर्षको  जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिन्छ । सोही सन्दर्भ पारेमा दाङमा यो वातावरण दिवस मनाइएको हो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, विभिन्न संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, लगायतको सहभागिता रहेको थियो   ।

संस्थाकी कोषाध्यक्ष रिमा शर्माको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव माया पोख्रेलले गर्नुभएको थियो ।

Facebook Comments