दाङ। नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका–४ वडा समितिको आयोजनामा दोस्रो खेतुलाल नेपाली स्मृति कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे ले खेलकुद समाजलाई एकताबद्ध बनाउने सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन्। उनले खेलमा जात, धर्म, भाषा, क्षेत्र वा राजनीतिक आस्थाको कुनै विभाजन नहुने भन्दै खेलले सबैलाई एउटै सूत्रमा बाँध्ने काम गर्ने उल्लेख गरे। खेलकुदले अनुशासन, नेतृत्व क्षमता, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्ने भएकाले युवापुस्तालाई खेलतर्फ आकर्षित गर्न आवश्यक रहेको उनको भनाइ थियो।
महामन्त्री घिमिरेले ग्रामीण क्षेत्रबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुन सक्ने बताउँदै बंगलाचुलीमा क्रिकेटप्रति देखिएको उत्साह सकारात्मक रहेको बताए। यहाँका खेलाडीहरूले भविष्यमा प्रदेश तथा राष्ट्रिय टोलीमा स्थान बनाएको हेर्न चाहेको उल्लेख गर्दै त्यसका लागि नेपाली कांग्रेसले आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए। उनले खेल पूर्वाधारको विकास, प्रतिभाको पहिचान तथा खेलाडीको प्रोत्साहनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राखे।
खेलकुद केवल मनोरञ्जनको माध्यम नभई समाज, राष्ट्र र विश्वलाई जोड्ने शक्ति भएको उल्लेख गर्दै उनले स्वस्थ, सभ्य र समृद्ध समाज निर्माणका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताए।
कार्यक्रम नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका–४ का वडा सभापति शिवराज परियारको सभापतित्व तथा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकर डाँगी को विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाका उपसभापति इन्द्रमणि वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव चेतप्रसाद डाँगीले गरेका थिए।
प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
बंगलाचुली क्षेत्रका ८ टोली सहभागी रहेको प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा स्युजा क्रिकेट टिम, जुम्लेपानी क्रिकेट टिम, काभ्रे श्रीवारी क्रिकेट टिम र बचेनी क्रिकेट टिम रहेका छन्। यस्तै समूह ‘बी’ मा बंगलाचुली क्रिकेट क्लब, श्रीवारी क्रिकेट टिम, छिप्पन क्रिकेट टिम र रोयल मुर्कुटी सहभागी छन्।
प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा स्युजा क्रिकेट टिम ले बचेनी क्रिकेट क्लब लाई पराजित गर्दै विजयी सुरुआत गरेको छ। दोस्रो खेलमा बंगलाचुली क्रिकेट क्लब (पुरुङ) ले रोयल मुर्कुटी माथि जित हात पारेको छ।
त्यसैगरी तेस्रो खेलमा काभ्रे श्रीवारी क्रिकेट टिम ले जुम्लेपानी क्रिकेट टिम लाई पराजित गर्दै महत्वपूर्ण अंक जोडेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
