दाङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत, अपरिपक्व र अराजनीतिक भन्दै कडा आलोचना गरेका छन्। उनले उक्त अभिव्यक्तिलाई समर्थन गर्ने सांसदहरूप्रति पनि जनताले प्रश्न उठाउनुपर्ने बताएका छन्।
रूपन्देहीको मणिग्राममा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित लुम्बिनी प्रदेशस्तरीय पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको भनाइले देशको प्रतिष्ठामाथि असर पुगेको दाबी गरे।
उनले संसदमा उक्त अभिव्यक्तिको पक्षमा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूमाथि पनि प्रश्न उठाउँदै मतदाताहरूले उनीहरूलाई जवाफदेही बनाउनुपर्ने बताए। थापाका अनुसार जनताले सांसदहरूलाई राष्ट्रहितको पक्षमा बोल्न र गलत अभिव्यक्तिको प्रतिवाद गर्न संसदमा पठाएका हुन्।
प्रधानमन्त्रीले अभिव्यक्ति नबुझी दिएको भए चिन्ताको विषय र बुझेरै दिएको भए अझ गम्भीर विषय हुने टिप्पणी गर्दै उनले संसदमा उपस्थित भएर आफ्नो भनाइ सच्याउन तथा सार्वजनिक रूपमा माफी माग्न आग्रह गरे।
सभापति थापाले प्रतिपक्षको भूमिकाबारे बोल्दै सरकारका सकारात्मक काममा सहयोग गर्ने र कमजोरी देखिए खबरदारी गर्ने दायित्व कांग्रेसले निरन्तर निर्वाह गर्ने बताए। प्रधानमन्त्रीले माफी नमागेसम्म जनस्तरबाट दबाब कायम रहने उनको भनाइ थियो।
यसैबीच उनले प्रतिनिधि सभा नियमावली २०८३ संसदबाट जबरजस्ती पारित गरिएको आरोप लगाउँदै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। आवश्यक परे अदालतसम्म जाने चेतावनी दिँदै उनले उक्त घटनालाई संसदीय अभ्यासका लागि दुर्भाग्यपूर्ण उदाहरणको रूपमा चित्रण गरे।
पार्टी संगठनका विषयमा बोल्दै थापाले आगामी निर्वाचनका उम्मेदवार चयन प्रक्रियामा क्रियाशील सदस्यहरूको मत र सर्वेक्षणलाई आधार बनाइने बताए। नेताहरूलाई रिझाएर नभई कार्यकर्ता र जनताको विश्वास जितेर अघि बढ्नुपर्ने उनको जोड थियो।
उनले कांग्रेसका भ्रातृ संस्थाहरूको महाधिवेशन प्रक्रिया तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिँदै आगामी चैतभित्र सबै संगठनको अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको बताए। साथै, पार्टीको औपचारिक संरचनाबाहिर रहेका व्यक्तिहरूलाई पनि समेट्ने कार्यक्रम ल्याइने जानकारी दिए।
सभापति थापाले पार्टीलाई सबै पुस्ता, वर्ग र समुदायको साझा शक्ति बनाउने लक्ष्य रहेको उल्लेख गर्दै कार्यकर्ताहरूको साथ र विश्वास आवश्यक रहेको बताए। उनले पार्टीले प्रभावकारी काम गर्न सके विगतमा टाढिएका नेता–कार्यकर्तासमेत पुनः आकर्षित हुने दाबी गरे।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
