• १७ जेष्ठ २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कपुरकोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, एक हजार बढी लाभान्वित




घोराही । ‘सबैको ख्याल राखौँ’ भन्ने मूल नारासहित दाङको घोराहीमा स्थापित ३०० शैयाको संजीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग तथा कपुरकोट गाउँपालिका, सल्यानको संयुक्त आयोजनामा शुक्रबार कपुरकोट–३ घनवाङस्थित कपुरकोट आधारभूत अस्पतालमा एकदिने एकीकृत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट एक हजारभन्दा बढी बिरामीले सेवा लिएका छन्।

कार्यक्रमको उद्घाटन कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन ले गर्नुभएको थियो। उद्घाटन मन्तव्य राख्दै अध्यक्ष पुनले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा प्राप्त हुनु स्थानीयवासीका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले संजीवनी टिचिङ हस्पिटलप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्नुभयो।

पत्रकारसँगको जिज्ञासामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोका ले शिविर सञ्चालनमा सहकार्य गरेकोमा कपुरकोट गाउँपालिका, स्वास्थ्य शाखा तथा सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले अस्पताल स्थापनाको उद्देश्यबारे चर्चा गर्दै स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा विपन्न समुदायलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने लक्ष्यअनुसार शिविर आयोजना गरिएको जानकारी दिनुभयो।

रोकाका अनुसार शिविरको मुख्य उद्देश्य निःशुल्क उपचार सेवा, प्रारम्भिक रोग पहिचान, स्वास्थ्य सचेतना अभिवृद्धि, विशेषज्ञ सेवाको पहुँच विस्तार तथा आवश्यक बिरामीलाई प्रेषण सेवा प्रदान गर्नु रहेको थियो। शिविरमा ल्याब परीक्षण, औषधि वितरण, भिडियो एक्स–रे लगायतका सेवा निःशुल्क उपलब्ध गराइएको उहाँले बताउनुभयो। साथै थप उपचारका लागि अस्पताल आउनुपर्ने बिरामीलाई औषधिबाहेक अन्य सेवामा २० प्रतिशतसम्म छुट प्रदान गरिने जानकारी दिनुभयो।

वृहद स्वास्थ्य शिविरको संयोजन अस्पतालका प्रशासकीय अधिकृत सुशिल रिजाल तथा कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमाल ले गर्नुभएको थियो। कार्यक्रममा अस्पताल सञ्चालक समिति सदस्य डा। लुना अर्याल ले शुभकामना मन्तव्य राख्नुभएको थियो।

अस्पतालका निमित्त मेडिकल डाइरेक्टर तथा कन्सल्टेन्ट फिजिसियन डा। बाचसपति सुवेदी का अनुसार शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, शिशु तथा बालरोग, नाक–कान–घाँटी लगायतका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

अस्पताल व्यवस्थापक सह–प्राध्यापक मदन प्रसाद पन्थी ले अस्पतालमा हाल आईसियु, सिसियु, एमआईसियु, एनआईसियु, पीआईसियु, एसआईसियु र एचडियु सेवा सञ्चालनमा रहेको जानकारी दिनुभयो। साथै डिजिटल एक्स–रे, भिडियो एक्स–रे, म्यामोग्राफी, इसिजी, इको, सिटी स्क्यान, एमआरआई, इन्डोस्कोपी, कोलोनोस्कोपी तथा हेमोडायलासिस सेवा उपलब्ध रहेको र निकट भविष्यमै न्युरो, युरो तथा कार्डियाक सेवा सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो।

शिविरबाट सेवा लिएका सेवाग्राहीहरूले विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श, ल्याब परीक्षण तथा औषधि सेवा पाउँदा आफूहरू सन्तुष्ट भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले दुर्गम क्षेत्रमा यस्ता स्वास्थ्य शिविरले ठूलो राहत मिलेको बताएका छन्।

कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन कपुरकोट अस्पतालका व्यवस्थापक देवेन्द्र कुमार सेन ले गर्नुभएको थियो भने स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख सुवास कुमार हमालले राख्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, वडा अध्यक्षहरू, पालिकाका कर्मचारी, स्वास्थ्य स्वयंसेविका तथा सुरक्षाकर्मीहरूको समेत सहयोग रहेको थियो।

Facebook Comments