घोराही । दाङको घोराहीमा विज्ञान पत्रकारिता तथा विज्ञान लेखनसम्बन्धी तीनदिने प्रशिक्षण तालिम आज शनिबारदेखि सुरु भएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र नेपाल पत्रकार महासंघ दाङ शाखाको संयुक्त आयोजनामा घोराहीस्थित भिंग्रेली भिलेजमा उक्त तालिम सुरु भएको हो। जेठ १८ गतेसम्म सञ्चालन हुने यस तालिममा जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले राजनीतिले मात्र समाजका सबै आवश्यकता पूरा गर्न नसक्ने उल्लेख गर्दै वर्तमान समयमा विज्ञान र प्रविधि सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभयो। समाजमा अझै पनि अन्धविश्वास, असत्य र गलत प्रचार व्यापक रहेको औंल्याउँदै उहाँले त्यस्ता भ्रमहरूलाई न्यूनीकरण गर्न पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। जिल्लामै पहिलो पटक आयोजित यस विशिष्टीकृत तालिमले मिथ्या र भ्रमपूर्ण सूचनालाई चिर्न अहम् भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि एवं कीर्तिपुरस्थित राष्ट्रिय केन्द्रीय वेधशाला र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले विज्ञान एक विशिष्टीकृत कार्यक्षेत्र भएको बताउनुभयो। विज्ञान र प्रविधिको सामान्य ज्ञानसमेत समाजलाई बुझाउन नसक्दासम्म राष्ट्रको विकासले गति लिन नसक्ने उहाँको भनाइ थियो। यो तालिमले विज्ञान लेखनमा रुचि राख्ने पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको उहाँले प्रस्ट पार्नुभयो।
पत्रकारिता तथा आमसञ्चार विभाग रत्नराज्य लक्ष्मी क्याम्पसका उप-प्राध्यापक विषय विज्ञ डा. ॠषिकेश दाहाल, एनटिभि वर्ल्डका निर्देशक विषय विज्ञ डा. टंक प्रसाद उप्रेती, केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग त्रिभुवन विश्वविद्यालयका प्रमुख विषय विज्ञ डा. कुन्दन अर्याल र प्लानेटेरियम वेधशाला र विज्ञान संग्राहलय कीर्तिपुर काठमाडौंका कार्यकारी निर्देशक विषय विज्ञ सनत कुमार शर्माले तालिममा विज्ञान पत्रकारिता र विज्ञान लेखनसम्बन्धी प्रशिक्षण दिनुहुने भएको छ ।
कार्यक्रमको सञ्चालन पत्रकार महासंघ दाङ शाखाका सचिव जेएन सागरले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
