तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) तुलसीपुर नगर कमिटीको बैठक शनिबार तुलसीपुरस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ।
बैठकले सुकुम्बासीमाथि भइरहेको सरकारी ज्यादतीविरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेको छ।
बैठकले पार्टीको संगठनात्मक सुदृढीकरण, उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा विभिन्न जनसरोकारका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको जनाएको छ।
नगर कमिटीका सचिव रुद्र सीको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकमा पार्टीका संगठनात्मक सम्मेलन आयोजक समितिका सदस्य प्रदीप सी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी सम्मेलन आयोजक समितिका सदस्य विकाश सी, तिलक सी तथा केन्द्रीय सल्लाहकार सुन्दर सी लगायत नेताहरूको आतिथ्यता रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदीप सीले वर्तमान राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, जनसंघर्षको आवश्यकता र उत्पादनमुखी गतिविधिलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो।
नेताहरूले विशेषगरी भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि राज्यले गरिरहेको दमन र अन्यायका विरुद्ध पार्टीले जनताको पक्षमा दृढतापूर्वक संघर्ष गर्ने बताएका छन्।
बैठकले आगामी दिनमा संगठन विस्तार, जनसम्बन्ध सुदृढीकरण तथा जनजीविकासँग जोडिएका मुद्दामा केन्द्रित भएर गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
