• १६ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा वैशाख महिनामा १४४ जनाको मुख तथा अनुहारको शल्यक्रिया




दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालू आर्थिक वर्षको वैशाख महिनाभित्र १४४ जना बिरामीको मुख तथा अनुहारसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। मुख तथा अनुहार शल्यचिकित्सक डा. निरोज खनाल, दन्तरोग विशेषज्ञहरू डा. लोचना आचार्य, डा. आश्मा ओझा, डा. शुभेच्छा पाण्डे, डा. अश्मी बराल, डा. करिश्मा भण्डारी र डा. आकृति खड्कासहित नर्स तथा स्वास्थ्यकर्मीको टोलीले यो सेवा प्रदान गर्दै आएको हो।

प्रतिष्ठानले दिएको जानकारीअनुसार वैशाख महिनामा दन्त विभागको ओपिडी (OPD) बाट ८ सय ९२ जना बिरामीले दाँतसम्बन्धी उपचार सेवा पाएका छन्। तीमध्ये ४ सय ५३ जना नयाँ बिरामी रहेका छन्। सेवा लिनेहरूमध्ये सामान्य तथा जरैदेखि उपचार गर्ने (आरसिटी) १ सय ३२ जना, कृत्रिम अस्थायी तथा स्थायी दाँत लगाउने ४ सय ८१ जना, बाङ्गो-टिंगो दाँत मिलाउने १ सय ५१ जना, दाँत सफा गर्ने २ सय ५१ जना र बच्चाको दुधे दाँतको उपचार गराउने ३ सय ५१ जना रहेका छन्।

​त्यस्तै, मुख तथा अनुहार शल्यचिकित्सासम्बन्धी गम्भीर प्रकृतिका ५ जना, सामान्य ६३ जना र दाँत निकाल्ने सेवा ७६ जनाले लिएका थिए। दन्त विभागले विगत एक वर्षदेखि विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दन्तरोगसम्बन्धी जनचेतना फैलाउन शिविरसमेत सञ्चालन गर्दै आएको छ।

​यसैबीच, अत्याधुनिक प्रविधिको दाँत र मुखको सिटी स्क्यान गर्ने ‘सीबीसीटी’ (CBCT) मेसिन भित्रिएपछि यहाँको उपचार सेवा थप प्रभावकारी बनेको छ। स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आपूर्ति महाशाखाले यो मेसिन प्रतिष्ठानलाई उपलब्ध गराएको हो। पश्चिम नेपालका सरकारी अस्पतालहरूमध्ये पहिलोपटक दाङको यस प्रतिष्ठानमा यो अत्याधुनिक मेसिन आएको हो।

​प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह-प्राध्यापक डा. सुरेश रसाइलीले स्वास्थ्य मन्त्रालय र आपूर्ति महाशाखाप्रति आभार प्रकट गर्दै दाँत र मुखको शल्यक्रियाका लागि सीबीसीटी मेसिन अत्यन्तै उपयोगी हुने बताउनुभयो।

​मेसिनको उपयोगिताबारे जानकारी दिँदै दन्तरोग विशेषज्ञ डा. निरोज खनालले भन्नुभयो, “अब दाँत र मुखको सिटी स्क्यान गर्न दाङबाहिर जानुपर्ने बाध्यता हटेको छ। यसअघि प्रतिष्ठानमा सामान्य किसिमको ओपिजी (OPG) मेसिन मात्र थियो, तर अहिले जडान गरिएको मेसिन अत्याधुनिक प्रविधिको छ। यसबाट दाँतको मात्र नभई मुखको पूरै भागको थ्री-डी (3D) इमेज हेर्न सकिन्छ, जसले उपचारमा ठूलो सहयोग पुर्‍याइरहेको छ।”

Facebook Comments