रुकुम पूर्वको सामुदायिक रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज आफ्नो नियमित प्रसारणको सफल सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ। “गणतन्त्र नेपालको समावेशी आवाज” भन्ने नारासहित सञ्चालित यस सामुदायिक रेडियोले यस अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण श्रोता, शुभेच्छुक तथा साझेदारहरूप्रति आभार व्यक्त गरेको छ।

२०७६ सालको गणतन्त्र दिवसदेखि प्रसारण सुरु गरेको रेडियोले ग्रामीण क्षेत्रका नागरिकको आवाजलाई प्राथमिकतामा राख्दै सूचना, शिक्षा, स्वास्थ्य, महिला तथा दलित सशक्तीकरण, मानवअधिकार र स्थानीय सरोकारका विषयलाई निरन्तर उठाउँदै आएको जनाएको छ।
सिस्ने गाउँपालिका–५, काजिन्द्रामा रहेको यस रेडियोले एफ.एम. प्रसारणका साथै डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल तथा भिडियो सामग्रीमार्फत नयाँ पुस्तासम्म पहुँच विस्तार गर्दै प्रविधिमैत्री सञ्चार अभ्यासलाई समेत सशक्त बनाएको उल्लेख गरेको छ।
रेडियो सञ्चालक समितिका अध्यक्ष लालबहादुर विष्ट ‘प्रभास’ (वा प्रभात) द्वारा जारी प्रेस विज्ञप्तिमा रेडियोको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सुरक्षा निकाय, राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, पत्रकार, नागरिक समाज, विज्ञापनदाता तथा सम्पूर्ण श्रोताप्रति धन्यवाद व्यक्त गरिएको छ।
रेडियोले आगामी दिनमा अझ जिम्मेवार, विश्वसनीय र समावेशी सञ्चारमार्फत समुदायको आवाजलाई थप सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धतासमेत जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
