दाङ । २४ औं कृष्ण सेन इच्छुक स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रम दाङमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ दाङ र प्रेस सेन्टर दाङको संयुक्त आयोजनामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं महासङ्घ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले पत्रकारिताले अन्धभक्त र अन्धविरोधको प्रवृत्ति त्याग्नुपर्ने बताउनुभयो।

महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शर्माले २००७ सालदेखि नेपाली जनताले खोज्दै आएको सुशासनको अभियान अहिले थप गति लिन थालेको उल्लेख गर्नुभयो। उहाँले बेथितिविरुद्ध देखिएको ‘जेनजी विद्रोह’ पनि सुशासनकै खोजी भएको धारणा राख्दै पछिल्लो जनमतपछि बनेको सरकारले त्यसलाई अगाडि बढाउने प्रयास गरिरहेको बताउनुभयो।
उहाँले पत्रकारिताको मूल दायित्व सरकारका सकारात्मक कामलाई प्रोत्साहन गर्ने र गलत कामप्रति खबरदारी गर्ने रहेको उल्लेख गर्दै कुनै पनि शक्ति वा सरकारले चाहेर पनि पत्रकारिता क्षेत्रलाई दमन गर्न नसक्ने स्पष्ट पार्नुभयो।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, महासङ्घका पूर्व उपाध्यक्ष उदय जीएम, लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्मा, पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, पूर्वअध्यक्षहरू प्रताप रेग्मी, केबी मसाल र केएल पीडित, लोककुमारी रिजाल पत्रकारिता पुरस्कारका अक्षयकोषदाता अर्जुनकुमार रिजाल तथा पुरस्कृत पत्रकार भुपेन्द्रप्रकाश ओलीले मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले कृष्ण सेन इच्छुक राजनीति, साहित्य र पत्रकारिताका त्रिवेणी व्यक्तित्व भएको उल्लेख गर्दै उहाँ मूलतः जनपक्षीय पत्रकार रहेको बताए। संकटका बेला सेनको विचार र जीवनशैली अनुशरण गर्न आवश्यक रहेको उनीहरूको भनाइ थियो। उनीहरूले सेन स्मृति दिवसलाई कर्मकाण्डी रूपमा मात्रै सीमित नगरी उहाँको जनशैली र जनसंस्कृतिलाई व्यवहारमा आत्मसात गर्नुपर्नेमा जोड दिएका थिए।
प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपाली को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासङ्घ दाङका सचिव जेएन सागर ले गर्नुभएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङद्वारा स्थापित ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार जनक नेपालीलाई सम्मान गरिएको थियो। त्यस्तै प्रेस सेन्टर दाङद्वारा स्थापित ‘सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार भुपेन्द्रप्रकाश ओली तथा ‘लोककुमारी रिजाल स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार सन्तोष डाँगी लाई सम्मान गरिएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
