दाङ । संजीवनी टिचिङ हस्पिटल घोराही, दाङ र सशस्त्र प्रहरी बल, नेपालबीच उपचार सेवामा छुट प्रदान गर्ने उद्देश्यले समझदारी पत्र -एमओयू_ मा हस्ताक्षर भएको छ। यस समझदारीसँगै सशस्त्र प्रहरी बलमा कार्यरत, अवकाश प्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले अब अस्पतालमा उपचार सेवामा विशेष सहुलियत पाउने भएका छन्।
शसस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेडक्वार्टर ज्वालामाई दाङ र संजीवनी टिचिङ हस्पिटल घोराहीबीच अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोका र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक एसपी यदुकुमार कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले सशस्त्र प्रहरी बलसँग आबद्ध कर्मचारी, अवकाश प्राप्त सुरक्षाकर्मी तथा उनीहरूका आश्रित परिवारलाई विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशतसम्म छुट दिने सहमति गरेको जनाएको छ।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोका, प्रमुख प्रशासकीय अधिकृत अनिल अर्याल, अस्पताल व्यवस्थापक सह–प्राध्यापक मदन पन्थी, प्रशासन अधिकृत सुशील रिजाल, वित्त नियन्त्रक सिए अनिल सुनारलगायत अस्पताल प्रशासनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। त्यस्तै सशस्त्र प्रहरी बल नेपालको तर्फबाट प्रहरी उपरीक्षक -एसपी_ यदुकुमार कार्की, नं= २९ गण हेडक्वार्टर ज्वालामाई दाङका सशस्त्र प्रहरी नायब उपरीक्षक इश्वर डीसी, नं= ४१ रिजर्भ गण हेडक्वार्टर अर्जुनखोला, लमहीका सशस्त्र प्रहरी नायब उपरीक्षक टेकराज पोखरेल, कारागार सुरक्षा बेस घोराहीका सशस्त्र प्रहरी नायब उपरीक्षक दिपकराज अर्यालसहित अन्य सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए।
अस्पतालका अनुसार उक्त सहुलियत सुविधा प्राप्त गर्न बिरामीले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात, सशस्त्र प्रहरी बलमा कार्यरत वा अवकाश प्राप्त व्यक्तिसँगको नाता प्रमाणित गर्ने कागजात वा सम्बन्धित कार्यालयबाट जारी औपचारिक पत्र पेश गर्नुपर्नेछ।यस समझदारीले सशस्त्र प्रहरी बलसँग आबद्ध कर्मचारी तथा उनीहरूका परिवारलाई सहज र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अस्पताल प्रशासनले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
