कमिरेचौर । दाङको बंगलाचुलीका खानी पीडित स्थानीयबासीहरु आन्दोलित भएका छन् ।
स्थानीय तह, टिपर व्यवसायी र पीडित स्थानीयबीच भएको सम्झौता लामो समय बितिसक्दा पनि कार्यान्वय नभएको भन्दै स्थानीयहरुले आजदेखि खानी क्षेत्रमा सञ्चालन हुने टिपर अनिश्चितकालका लागि बन्द गर्दै थप आन्दोलित भएका हुन् । विगतमा भएका सहमति तत्काल कार्यान्वय हुनुपर्ने मागसहित पीडित स्थानीयहरु आन्दोलनमा होमिएका छन् ।
बंगलाचुली गाउँपालिका – ४ जुम्लेपानीस्थित एक किलोमिटर कच्ची सडक खण्ड कालोपत्रे गर्ने सम्झौता भएको पाँच महिनासम्म कुनै प्रक्रिया अगाडि नबढेको भन्दै आन्दोलन गर्नुको विकल्प नरहेको स्थानीयबासीहरुले बताएका छन् । सो क्षेत्रमा कालोपत्रे गर्नका लागि २०८२ पुस ४ गते स्थानीय जनता, सरोकारवाला, स्थानीय निकाय, खानी र टिपर व्यवसायीबीच सहमति भएको थियो ।
सबै पक्षको सहमतिअनुसार २०८२ फागुन मसान्तसम्ममा सडक कालोपत्रे गरिसक्ने भनिएतापनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढ्न नसेको स्थानीयहरुले गुनासो गरेका छन् ।
जुम्मेपानी निवासी टंकु भण्डारीको अध्यक्षतामा आज बसेको भेलाले चुनढुङ्गा उत्खनन् र ढुवानीका क्रियाकलापबाट धुलो, ध्वनी लगायत अन्य वातावरणीय प्रदुषणबाट स्थानीयहरु प्रत्यक्ष प्रभावित भएको भन्दै टिपर सञ्चालन रोक लगाइएको र सहमति कार्यान्वयका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै, भेलाले पूर्वनिर्धारित निर्णयहरु कार्यान्वय नभएको भन्दै थप संघर्षका कार्यक्रहरु अगाडि बढाएको हो ।
पीडित स्थानीयहरुले भेलाबाट पारित भएका संघर्षका कार्यक्रम अन्तर्गत सहमति कार्यान्वयको माग गर्दै बंगालचुली गाउँपालिका अगाडि प्रदर्शन गरेका थिए ।
प्रदर्शनको क्रममा बंगलाचुली बनाऔं अभियानका संयोजक सुशील परियारले सडक कालोपत्रेका लागि विगतमा पटक–पकट भएका सहमति तथा निर्णयहरु कार्यान्वय हुन नसक्दा आन्दोलित हुनु परेको बताउनुभयो । उहाँले स्थानीय सकार, टिपर व्यवसयी र पीडित स्थानीयहरुको बीचमा भएका सहमतिहरु यथासिघ्र कार्यान्वय नहुँदा स्थानीयहरुले सास्ती भोग्नु परेको बताउनुभएको थियो । स्थानीय जनताका मागहरु अन्यथा कार्यान्वयका प्रक्रियामा अगाडि नबढेसम्म आन्दोलन जारी रहने उहाँको भनाइ थियो ।
पीडित स्थानीयहरुसँग भेट गर्दै बंगालचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नाराण प्रसाद आचार्यले पालिकाभित्र रहेका खानी प्रत्यक्ष रुपमा संघीय सकारसँग लिंक हुने र स्थानीय सकारले उत्खनन्का लागि अनुमति नदिएको बताउनुभयो । उहाँले स्थानीय जनतासँग विगतमा भएका निर्णयहरु कार्यान्वय गराउनका लागि जिल्ला प्रशासन कार्यालयलाई झक्झक्याउने काम गरिरहेको र स्थानीय सकार सधै जनतासँगसँगै रहेको जानकारी गराउनुभएको थियो ।
पीडित स्थानीयहरुले बंगलाचुली गाउँपालिका – ४ मा रहेको तापा खानी, बंगलाचुली– ३ मा रहेको थारा खानी र बंगलाचुली – ६ मा रहेको तिमिले खानीमा पुगेर तत्काल चुनढुंगा उत्खनन् कार्य बन्द गरी विगतमा भएका सहमति कार्यान्वय गर्न चेतावनी दिएका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
