दाङ । दाङको घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा बिबिएस (BBS) अध्ययन पूरा गरेका चौथो वर्षका विद्यार्थीहरूलाई शनिबार एक भव्य कार्यक्रमका बीच बिदाइ गरिएको छ । कलेजको बिबिएस चौथो वर्ष (२०७९ ब्याच) का विद्यार्थीहरूले घोराहीस्थित होटल पौवामा कार्यक्रम आयोजना गरी २०७८ ब्याचका विद्यार्थीहरूलाई बिदाइ गरेका हुन् ।
बिबिएस चौथो वर्षकी विद्यार्थी समीक्षा बन्जाडेको सभापतित्व तथा क्याम्पस प्रमुख लालमणी बसेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बिदाइ भई जाने विद्यार्थीहरूलाई टीका, खादा, माला र मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं क्याम्पस प्रमुख बसेलले अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई आफ्नो व्यक्तिगत विकाससँगै समाजमा सिर्जनात्मक कार्य गर्न आग्रह गर्नुभयो । त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि एवं कलेजका पूर्व प्रमुख वामदेव लम्सालले कलेजमा सिकेको ज्ञान र सीपलाई समाज रूपान्तरणमा उपयोग गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा रिसर्च कोर्डिनेटर प्राध्यापक नौलाबहादुर खड्काले मार्क कलेजका विद्यार्थीहरूले शिक्षासँगै संस्कार, अनुशासन, आत्मनिर्भरता र व्यावहारिक ज्ञान हासिल गरेको चर्चा गर्दै आगामी दिनमा हरेक क्षेत्रमा अब्बल साबित हुन शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा कलेजका कोर्डिनेटर कृष्ण केसी, प्राध्यापकहरू नवराज सुवेदी, यज्ञ केसी, सन्दीप न्यौपाने, नवीन कुमार गौतम, सुरज गुप्ता, हेमराज शर्मा, शिशिर क्षेत्री, कमल रेग्मी तथा विद्यार्थी अनिल नेपाली लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बिदाइ कार्यक्रममा विद्यार्थीहरूले गीत, कविता, गजल, नृत्य तथा विभिन्न खेलहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण बिबिएस चौथो वर्षका विद्यार्थीहरू लजिम चन्द ठकुरी, धनु नेपाली र तुल्सी कुँवरले गर्नुभएको थियो ।
बिबिएस र एमबिएस (MBS) कार्यक्रम सञ्चालन गरिरहेको मार्क इन्टरनेशनल कलेजले दाङकै एक पुरानो र लोकप्रिय शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
