• ९ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा एक महिनामै ११३ जनाको मिर्गौलाको पत्थरीको सफल शल्यक्रिया




दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सुरु भएपछि सेवा क्रमशः प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानका युरोलोजिस्ट सर्जन डा. सुशिल खनियाँको नेतृत्वमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको टोलीले सानादेखि ठूला शल्यक्रिया नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

​प्रतिष्ठानले दिएको जानकारी अनुसार युरोलोजी ओपिडी (बाह्य बिरामी विभाग) मार्फत दैनिक ७० भन्दा बढी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन्। प्रतिष्ठानको तथ्याङ्क अनुसार वैशाख १ देखि ३१ गतेसम्म युरोलोजी विभागबाट १ सय १३ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ। सोही अवधिमा युरोलोजीतातर्फ ५ सय ५ जना बिरामीले ओपिडी सेवा पाएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ। त्यस्तै युरोलोजी सेवा अन्तर्गत भर्ना गरेर ६१ जना बिरामीको उपचार गरिएको छ।

​यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई बाहिरका सहर जानुपर्ने बाध्यता थियो। तर, प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार भएपछि उक्त समस्या समाधान भएको छ।

​युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी रोग, प्रोस्टेट, मिर्गौलाको पत्थरी, पिसाबको नलीसम्बन्धी समस्या, अण्डकोषमा मासु पलाउने वा सुन्निने, पिसाब पोल्ने वा चुहिने लगायतका रोगहरूको उपचार प्रतिष्ठानमा गर्न सकिने युरोलोजिस्ट डा. खनियाँले जानकारी दिनुभयो। उहाँका अनुसार युरोलोजी सेवा लिने बिरामीको संख्या दिनदिनै बढ्दो क्रममा छ।

​प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीले युरोलोजी सेवा अत्यन्त प्रभावकारी बनेको बताउँदै स्थानीय स्तरमै विशेषज्ञ उपचार सेवा प्राप्त गर्न पाउँदा बिरामीहरू खुसी भएको जानकारी दिनुभयो। डा. खनियाँ लामो समयदेखि प्रतिष्ठानमा युरोलोजी सेवा प्रदान गर्दै आएका अनुभवी चिकित्सकका रूपमा परिचित हुनुहुन्छ।

​युरोलोजिसहित विशिष्टीकृत सेवालाई प्रभावकारी बनाउन प्रतिष्ठानले वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगायतका संस्थाहरूसँग सहकार्य सुरु गरेको जनाएको छ। सेवा विस्तार भए पनि भौतिक पूर्वाधारको अभाव भने अझै चुनौतीपूर्ण रहेको प्रतिष्ठानको भनाइ छ।

Facebook Comments