घोराही । दाङको घोराहीमा त्रिभुवननगर जेसीजको ४१ औँ स्थापना दिवस तथा दुर्गानारायण वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
१८ वटा विद्यालयको सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा गोर्खा माध्यमिक विद्यालयकी सुप्रिया शर्मा प्रथम हुनुभएको छ।
यस्तै, गोर्खा माविकै आयुष देवकोटा द्वितीय र मनकामना इङ्लिस बोर्डिङ स्कूलकी सविना तामाङ तृतीय हुनुभएको छ। विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा त्रिभुवननगर जेसीजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा कार्यक्रम भएको हो।
सो अवसरमा जेसीजका संस्थापक सदस्यहरू गोपाल बहादुर रावत, कृष्णप्रसाद लम्साल र लीलाधर पंथीलाई सम्मान समेत गरिएको थियो।
विभिन्न जेसीज शाखाका पदाधिकारीहरूको उपस्थिति रहेको कार्यक्रमको स्वागत संयोजक अभिषेक बोहराले र सञ्चालन सचिव रन बहादुर खड्काले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
