• ३ जेष्ठ २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
संजीवनी शिक्षण अस्पतालको सहयोगमा शान्तिनगरमा स्वास्थ्य शिविर, ६०० बढी लाभान्वित




दाङ । संजीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग तथा शान्तिनगर गाउँपालिकाको संयुक्त आयोजनामा दाङको शान्तिनगर गाउँपालिका–५ बैसास्थित सभाहलमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ६०५ जना बिरामीहरूले विभिन्न विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन् । शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउनु स्थानीयवासीका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै अस्पताल परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा अस्पताल सञ्चालक समिति सदस्य डा. लुना अर्यालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिइने जानकारी दिनुभयो । उहाँले ग्रामीण समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु अस्पतालको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले शिविर सञ्चालनमा सहकार्य गरेको भन्दै शान्तिनगर गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले अस्पताल स्थापनाको इतिहासबारे चर्चा गर्दै विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउनु शिविरको मुख्य उद्देश्य रहेको बताउनुभयो । रोकाले शिविरमार्फत प्रारम्भिक रोग पहिचान, स्वास्थ्य सचेतना अभिवृद्धि, विशेषज्ञ सेवाको पहुँच विस्तार तथा आवश्यक बिरामीलाई प्रेषण सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा भिडियो एक्स–रे, ल्याब परीक्षण तथा औषधि वितरण सेवा समेत निःशुल्क प्रदान गरिएको थियो । साथै शिविरमा उपचार गराएका बिरामीलाई थप उपचारका लागि अस्पताल जानुपरे औषधिबाहेक अन्य सेवामा २० प्रतिशतसम्म छुट दिइने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

अस्पतालका निमित्त मेडिकल डाइरेक्टर तथा कन्सल्टेन्ट फिजिसियन डा. बाचसपति सुवेदी का अनुसार शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, बालरोग, नाक–कान–घाँटी लगायतका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिएको थियो ।त्यसैगरी अस्पतालका प्रमुख प्रशासकीय अधिकृत अनिल अर्याल ले तीन सय शैयाको शिक्षण अस्पतालमा हाल आईसियु, सिसियु, एमआइसियु, एनआइसियु, पिआइसियु, एसआइसियु तथा एचडियु सेवा सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार रेडियोग्राफी अन्तर्गत डिजिटल एक्स–रे, भिडियो एक्स–रे, म्यामोग्राफी, इसिजी, इको, सिटी स्क्यान, एमआरआई, इन्टर्भेन्सनल इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा उपलब्ध छन् । साथै निकट भविष्यमै न्युरो, युरो तथा कार्डियाक सेवा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य शिविरबाट सेवा लिएका स्थानीय सेवाग्राहीहरूले विशेषज्ञ चिकित्सकबाट गाउँमै स्वास्थ्य परीक्षण गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए । शुल्क भिडियो एक्स–रे, ल्याब परीक्षण र औषधि सेवा उपलब्ध गराएको भन्दै उनीहरूले आयोजकप्रति आभार व्यक्त गरेका छन् ।कार्यक्रममा वडा अध्यक्षहरू मिन बहादुर के.सी, ओपेन्द्र बहादुर रावत, तारा बहादुर ओली लगायत जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी बुढाथोकीको स्वागत मन्तब्यबाट सुरु भएको शिविर उद्घाटन सत्रको सञ्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम पाण्डे ले गर्नुभएको थियो ।

Facebook Comments