दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका नवनिर्वाचित पदाधिकारीहरूले आफ्नो पहिलो बैठकमै उपभोक्तामुखी महत्वपूर्ण निर्णयहरू गरेका छन्। बैठकले हालसम्म उपलब्ध गराइँदै आएको पानीको परिमाण ८ हजार लिटरबाट बढाएर अब १० हजार लिटर पुर्याउने निर्णय गरेको हो। उक्त सेवा उपभोक्ताले १६० रुपैयाँमै प्राप्त गर्ने व्यवस्था गरिएको संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
नवनिर्वाचित अध्यक्ष ध्रुव केसीको अध्यक्षतामा बसेको बैठकले उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने निर्णयसँगै घोराहीलाई “ग्रिन सिटी” का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य पनि अघि सारेको छ। सोही लक्ष्यअनुसार उपभोक्तालाई वातावरणमैत्री सिलिकन व्याग वितरण गर्ने निर्णय समेत गरिएको छ, जसले प्लास्टिकको प्रयोग घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
बैठकले संस्थाको नियमित गतिविधिलाई व्यवस्थित गर्न प्रत्येक महिनाको १० गते नियमित बैठक बस्ने निर्णय पनि गरेको छ। साथै हालै सम्पन्न निर्वाचनमा सहयोग पुर्याउने उपभोक्ता, मतदाता, राजनीतिक दल, पत्रकार, नागरिक समाज, कर्मचारी तथा निर्वाचन समितिलगायत सबै पक्षलाई धन्यवाद ज्ञापन गरिएको छ।
यसैबीच, नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम पनि सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत रेवतीरमण भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्षसहित सम्पूर्ण पदाधिकारीलाई शपथ ग्रहण गराइएको थियो। कार्यक्रमको सहजीकरण निर्वाचन अधिकृत भूपबहादुर केसीले गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
