घोराही । घोराहीस्थित दीपशिखा माध्यमिक विद्यालयले एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, अभिभावक तथा शिक्षकलाई सम्मान गरेको छ। विद्यालयले बुधबार घोराहीस्थित कैशी रेस्टुरेन्टमा विशेष कार्यक्रम आयोजना गरी ४ जीपीए प्राप्त गर्ने छात्रासहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको हो।
यस वर्ष विद्यालयबाट एसइई परीक्षामा सहभागी ९५ जना विद्यार्थीमध्ये एक छात्राले ४ जीपीए प्राप्त गरेकी छन् भने विद्यालयले शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले वैशाख २८ गते सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयकी छात्रा तेजस्वी डाँगीले ४ जीपीए ल्याएर विद्यालयको गौरव बढाएकी हुन्। उत्कृष्ट नतिजा हासिल गरेबापत उनलाई विद्यालयले नगद २० हजार रुपैयाँसहित सम्मान गरेको थियो। कार्यक्रममा अन्य सबै उत्तीर्ण विद्यार्थीलाई टीका र खादा लगाएर सम्मान गरिएको थियो।
विद्यालयले विद्यार्थीको सफलतामा योगदान पुर्याउने शिक्षकहरूलाई समेत विशेष सम्मान गरेको छ। विद्यालयको स्किम योजनाअनुसार ४ जीपीए ल्याउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विषयगत शिक्षकहरूलाई जनही २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षता तथा शिक्षा तथा समन्वय इकाई घोराहीका प्रमुख देवमणि चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले विद्यालयले गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले दक्ष शिक्षक, अनुशासित शैक्षिक वातावरण र अभिभावकको साथ–सहयोगकै कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो।
त्यसैगरी, कलेज प्रमुख प्रतिराज बस्नेतले विद्यालयले लगातार उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउँदै गत वर्ष पनि एक विद्यार्थीले ४ जीपीए ल्याएको जानकारी दिनुभयो। उहाँले परीक्षा जीवनको एउटा अवसर मात्र भएकाले नतिजालाई लिएर निराश नहुन विद्यार्थीलाई आग्रह गर्नुभयो।
बस्नेतका अनुसार विद्यालयमा हाल प्लस–टु तहमा व्यवस्थापन र विज्ञान संकाय सञ्चालनमा छन्। विद्यार्थीको आवश्यकता र समयको मागअनुसार यस वर्षदेखि केही नयाँ विषयसमेत थप गरिएको उहाँले जानकारी दिनुभयो।
वि.सं. २०४९ सालदेखि सञ्चालनमा रहेको विद्यालयले स्थापनाकालदेखि नै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ।
संस्थापक सदस्य तथा आर्थिक विभाग प्रमुख राम थापाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल मनोज बुढाथोकीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
