दाङ, घोराही । ज्ञानसिन्धु एजुकेशनल एकेडेमी घोराहीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
यस वर्ष विद्यालयबाट ३१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा तीन जनाले ४ जीपीए ल्याएका छन् भने १५ जना विद्यार्थी ए प्लस ग्रेडमा उत्तीर्ण भएका छन् । बाँकीले ए र केहीले बी प्लस ल्याएका छन् । जिल्लाभर २६ जनाले मात्रै ४ जीपीए ल्याएको अवस्थामा आफ्नो विद्यालयका तीन जना विद्यार्थी उक्त सूचीमा पर्न सफल भएको भन्दै विद्यालयका प्रिन्सिपल हेमराज पौडेलले खुशी व्यक्त गर्नुभयो । ४ जीपीए प्राप्त गर्ने विद्यार्थी मनोज भण्डारी, सुशील बिक र भिजन ओलीसहित सफल सबै विद्यार्थीहरुलाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद शर्मा, प्लस टु संयोजक तिलक अधिकारी, प्रिन्सिपल हेमराज पौडेल लगायतले विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो । तल्लो कक्षाका विद्यार्थीहरुले अविरमाला लगाएर सम्मान व्यक्त गरेका थिए भने सफलताको खुशीयालीमा केक काटेर उत्सवसमेत मनाइएको थियो ।

मन्टेश्वरीदेखि मास्टर्स तहसम्म पठनपाठन हुँदै आएको यस शिक्षालयअन्तर्गत तल्लो तहमा ज्ञानसिन्धु एजुकेशनल एकेडेमी, माध्यमिक तहमा ज्ञानसिन्धु मावि तथा उच्च शिक्षातर्फ राप्ती शिक्षा क्याम्पस सञ्चालनमा रहेका छन् । कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा र कानुन विषयको अध्ययन हुँदै आएको छ भने उच्च शिक्षातर्फ शिक्षा संकायमा स्नातक तथा स्नातकोत्तर तहको पठनपाठन सञ्चालन भइरहेको छ ।

राप्ती क्षेत्रमा हजारौं शिक्षक उत्पादन गर्ने शैक्षिक संस्थाका रूपमा राप्ती शिक्षा क्याम्पस स्थापित रहेको छ । तीनै शैक्षिक संस्थाको नेतृत्व शैक्षिक व्यक्तित्व हुकुमबहादुर बुढाथोकी ले गर्दै आउनुभएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
