रोल्पा । नेपाल प्रगतिशील युवा सञ्जालको आयोजनामा रोल्पाको परिवर्तन गाउँपालिका मा युवा तथा विद्यार्थी लक्षित दुई दिवसीय संघीय नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । परिवर्तन गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा ६३ जना युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
नेपाल प्रगतिशील युवा सञ्जालका केन्द्रीय अध्यक्ष आकाश ओली को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले युवाहरूको क्षमता विकास, नेतृत्व निर्माण तथा सामाजिक रूपान्तरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले परिवर्तन गाउँपालिकामा पहिलो पटक नमुना संसद कार्यक्रम आयोजना हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाकी पूर्व उपाध्यक्ष हितकुमारी बुढा तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक घर्ती मगर विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा हुरेक रोल्पा का प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । प्रशिक्षण सत्रको सहजीकरण प्रशिक्षकद्वय दुर्बिन वलि र इन्द्र बहादुर खत्री ले गर्नुभएको थियो ।
नेपाल प्रगतिशील युवा सञ्जालका इन्द्र बहादुर खत्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सहभागी युवाहरूले नेपालको संसदीय पद्धति, कानुन निर्माण प्रक्रिया तथा संसदको अधिवेशन आह्वानदेखि अन्त्यसम्मका विषयमा व्यावहारिक ज्ञान हासिल गरेको बताएका छन् ।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष आकाश ओलीले देशका विभिन्न जिल्लामा युवा तथा विद्यार्थी लक्षित संसदीय अभ्यास कार्यक्रम सञ्चालन गर्न सरकार तथा सरोकारवाला निकायहरूले प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
