• २१ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा गुरुकुलद्वारा पहिलोपटक अभिभावकका लागि पाठ्यक्रम अभिमुखीकरण कार्यक्रम




घोराही । दाङ क्षेत्रमा पहिलोपटक गुरुकुल एकेडेमीले विद्यालयस्तरमा अभिभावकलाई लक्षित गर्दै पाठ्यक्रम अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयले आयोजना गरेको उक्त कार्यक्रमले अभिभावकलाई आफ्ना छोराछोरीले अध्ययन गर्ने पाठ्यक्रम, सिकाइ प्रक्रिया तथा मूल्यांकन प्रणालीबारे स्पष्ट जानकारी गराउने उद्देश्य राखेको गुरुकुल एकेडेमीका प्रधानाध्यापक प्रदीप राजभण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रधानाध्यापक राजभण्डारीका अनुसार पछिल्लो समय बालबालिकाको समग्र शैक्षिक विकासमा विद्यालय र अभिभावकबीचको सहकार्य अत्यन्त आवश्यक बन्दै गएको सन्दर्भमा यस्तो कार्यक्रम आयोजना गरिएको हो।

दाङ क्षेत्रमा यस प्रकृतिको कार्यक्रम पहिलोपटक सञ्चालन गरिनु आफैंमा विशेष महत्वको विषय मानिएको छ । अभिमुखीकरण कार्यक्रममा अभिभावकलाई कक्षा अनुसारका विषयवस्तु, पाठ्यक्रमको संरचना तथा त्यसको मूल उद्देश्यबारे विस्तृत जानकारी दिइएको थियो।

विद्यालयले विद्यार्थीहरूले के सिक्ने, किन सिक्ने र त्यसबाट कस्तो व्यवहारिक क्षमता विकास हुने भन्ने विषयमा स्पष्ट पारेको थियो।
त्यसैगरी, परम्परागत घोकन्ते शिक्षणभन्दा फरक वर्तमान शिक्षण पद्धतिबारे पनि अभिभावकलाई जानकारी गराइएको विद्यालय संयोजक भुवन आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा activity–based learning, project work, समूहगत अभ्यास, प्रस्तुतीकरण तथा सिर्जनात्मक कार्यमार्फत सिकाइलाई कसरी व्यवहारिक र प्रभावकारी बनाइँदैछ भन्ने विषयमा शिक्षकहरूले प्रस्तुति दिएका थिए ।

मूल्यांकन प्रणालीबारे पनि अभिभावकलाई विस्तृत रूपमा जानकारी दिइएको थियो। केवल वार्षिक वा त्रैमासिक परीक्षामा मात्र निर्भर नभई आन्तरिक मूल्यांकन, कक्षागत सहभागिता, गृहकार्य, परियोजना कार्य तथा निरन्तर मूल्यांकनका आधारमा विद्यार्थीको प्रगति मापन गरिने व्यवस्था रहेको विद्यालयले स्पष्ट पारेको थियो । साथै grading system को प्रयोग, त्यसको अर्थ र नतिजाको विश्लेषण कसरी गर्ने भन्ने विषयमा समेत अभिभावकलाई बुझाइएको थियो।

कार्यक्रममा विद्यालयका नियम, अनुशासन, उपस्थिति, पोशाक, समयपालना तथा विद्यालयले अवलम्बन गरेका शैक्षिक नीतिहरूबारे पनि जानकारी प्रदान गरिएको थियो। विद्यालयले बालबालिकाको शैक्षिक यात्रालाई प्रभावकारी बनाउन अभिभावकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरेको थियो।

अभिभावकको भूमिकाबारे विशेष जोड दिँदै घरमा बालबालिकाका लागि अनुकूल अध्ययन वातावरण निर्माण गर्ने, उनीहरूको दैनिक अध्ययन गतिविधि निगरानी गर्ने, शिक्षकसँग नियमित सम्पर्कमा रहने तथा सकारात्मक प्रोत्साहन र भावनात्मक सहयोग प्रदान गर्ने विषयमा मार्गदर्शन गरिएको थियो । कार्यक्रममा सहभागी अभिभावकहरूले यस्ता कार्यक्रमले आफूहरूलाई विद्यालयको शैक्षिक प्रणाली बुझ्न सहज भएको प्रतिक्रिया दिएका थिए। बालबालिकाको पढाइप्रति आफूहरूको जिम्मेवारी अझ स्पष्ट भएको उनीहरूको भनाइ थियो ।

विद्यालयका प्रतिनिधिहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले विद्यालय र अभिभावकबीच विश्वास, समन्वय तथा सहकार्य अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । दाङमै पहिलोपटक सञ्चालन गरिएको यो कार्यक्रमले आगामी दिनमा अन्य विद्यालयहरूलाई समेत यस्तै अभ्यासतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

Facebook Comments