• २१ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सुकुम्बासी समस्या: पूर्वीय र पश्चिमी दृष्टिकोणबीचको द्वन्द्व




भक्त परियार
अहिले बजारमा तातो विषय छ – ‘सुकुम्बासी समस्या।’ सरकारी दृष्टिकोण के छ भने – “आफूसँग जमिन भएर पनि (लालपुर्जा भएर पनि) ठाटाबाटा नागरिकले जग्गा अतिक्रमण गरेका छन्।” अर्को पक्ष हो – “आफूसँग एक आना जग्गा पनि आफ्नो नाममा छैन, र हामीलाई सरकारले अन्याय गर्‍यो। हामी नै वास्तविक सुकुम्बासी हौं। राज्यले हामीलाई व्यवस्थापन गर्नुपर्छ।” यी दुई विचार र दृष्टिकोणबीच जुन द्वन्द्व छ, त्यसैले अहिले दैनिकजसो झडप, रुवासी, आक्रोश, आन्दोलन देखा परिरहेको छ।

प्राकृतिक साधनस्रोत (जमिन, जङ्गल, नदी, पहाड) लाई हेर्ने पूर्वीय र पश्चिमी दर्शन एकदमै फरक छ। पूर्वीय दर्शनले मानव र प्रकृतिलाई एउटै आत्मा (spirit) को रूपमा हेर्छ। भन्नुको अर्थ – मानव, जमिन, नदी, जङ्गल, पहाड सबैमा आत्मा (soul) हुन्छ। त्यसैले प्रकृतिको अनावश्यक दोहन (extraction) गर्नु हुँदैन। मानव र प्रकृति एउटै हुन् है, फरक होइनन्। तिनीहरूबीच पारस्परिक सम्बन्ध (reciprocal relation) हुन्छ। मानवले भूमिबाट केही लिन्छ भने भूमिलाई पनि केही फर्काउनुपर्छ। यो कुरा दैनिक कृषि कार्यमा सजिलै देख्न र बुझ्न सकिन्छ। पूर्वीय दर्शन त प्रकृतिको शोषणको पूर्ण विपक्षमा छ। अब यही दृष्टिकोणलाई सुकुम्बासी समस्यासँग connect गरौं। त जमिन वास्तवमा कसैको होइन। सरकार, प्रशासनले लालपुर्जा बाँडेर कसैको नाममा लेखिदिनुपर्ने होइन। भूमि त प्रकृति हो। उ प्रकृति कसैको नाममा दर्ता हुने चिज होइन। बढीमा के हुनसक्छ भने, त्यो जमिनलाई पहिला कसले उर्वर बनायो ? जस्तै दाङ उपत्यका थारूहरूले उर्वर बनाएका हुन्। त्यसैले अरूले प्रयोग गरेको भन्दा अलि बढी प्रयोग गर्ने अधिकार उनीहरूलाई हुनुपर्छ। तर त्यो लालपुर्जाको रूपमा होइन। विद्यालय, अस्पताल, सरकार, नियम, कानून, राजनीति – यी सबै शब्दहरू आदिवासी थारूहरूभन्दा धेरै पछि आएका हुन्।

अब यही सुकुम्बासी समस्यालाई पश्चिमी दृष्टिकोणले हेरौं। पश्चिमी विद्वान् मानव र प्रकृति दुई अलग चिज हुन् भन्ने मान्छन्। उनीहरूको आँखामा प्रकृति मानवसरह होइन। मानवले प्रकृतिको उपयोग गर्न पाउनुपर्छ किनभने प्रकृति नै मानवको प्रयोगका लागि बनेको हो। पश्चिमी देशहरू यही सोचले प्रकृतिको अत्यधिक दोहन गर्छन्। हामी नदी देख्यौं भने पूजाआराधना गर्छौं। तर पश्चिमा सोच भएको मानिसले त्यही नदीमा बाँध बनाउने, बिजुली निकाल्ने, गिट्टी-ढुङ्गा झिकेर पैसा कमाउनेबारे सोच्छ। प्रकृतिको यही अत्यधिक दोहनले गर्दा हामी आज climate change भोग्दै छौं। पृथ्वी नै जोखिममा छ। प्रकृतिको दोहनको होडबाजीले गर्दा ठूला युद्ध, अशान्ति, तख्तापलट, द्वन्द्व (conflict) भोगिरहेका छौं। र हाम्रो देशको सुकुम्बासी समस्या पनि यही सोचको उपज हो – भूमि आफ्नो नाममै बनाउने।

सरकारी नियम, कानून, लालपुर्जाले वास्तविक गरिब र आदिवासी कृषकहरूलाई जमिन जोत्न, अन्न उब्जाउन, प्रकृति र मानवको अन्तरसम्बन्ध जीवित राख्न दिएनन्। शक्ति, राजनीति, गुठी, बिर्ता – यिनैको नाममा कृषक वर्गलाई भूमिहीन बनाइयो। राणाकालमा रणोद्दीप सिंहले १२ हजार विघा जमिन राजनीतिक शक्तिको आडमा आफ्नै रानीको नाममा बिर्ता लेखाए। यस्ता हजारौं उदाहरण इतिहासमा भरिएका छन्। प्राकृतिक न्यायको आँखाले हेर्दा के यो सम्पत्ति वैध लाग्छ ? कहिल्यै होइन। नेपालमा भूमिलाई महत्वपूर्ण सम्पत्ति मानिन्छ। त्यसैले आज पनि धेरै मानिस भूमिमा लगानी गर्छन्, आफूले नजोत्ने जमिन पनि आफ्नो नाममा किनेर दर्ता गर्छन्। भूमि हुने र नहुने बीचको विभेद जे छ, त्यो पश्चिमी दृष्टिकोणकै फल हो। यो द्वन्द्व राजनीतिक समस्या मात्र होइन। यो त शक्ति हुनेले भूमिमाथि दोहन गर्ने एउटा निरन्तरको practice मात्र हो। यसरी जग्गा हुने-नहुने बीचको खाडल, राजनीतिक शक्तिको आडमा दमन (भोलि अर्को शक्तिले पनि यस्तै गर्ला) – यसले द्वन्द्व झन् बढाइरहेको छ। एउटा अन्तहीन शृङ्खला बनेको छ।

तर पूर्वीय दर्शन के भन्छ ? ‘भूमि कसैको होइन।’ यो भावनालाई साँच्चै आत्मसात गरियो भने लामो समयमा द्वन्द्व कम हुन्छ। हो, यो पनि साँचो हो कि बागमती किनारमा मनपरी कब्जा गरेर घर बनाउनु, सहर अव्यवस्थित बनाउनु राम्रो होइन। तर यो समस्या पैदा नै कसले गर्‍यो ? राज्य, राजनीति, कानून र लालपुर्जाले नै गर्‍यो। लालपुर्जाले मानिसमा लोभ पैदा गर्‍यो। आज दिनभर कुनै काम नगरी बस्ने मान्छेले एक कट्ठा जग्गा बेचेर गाडी चढेको देख्दा मानिसमा जमिनप्रतिको लोभ र आशक्ति झन् बढ्छ। त्यही लोभले मानिस भूमि आफ्नै अधिकारमा लिन खोज्छ। तर भूमि सबैको साझा हो। उसलाई किनबेचको बजारमा थुन्नु हुँदैन। भूमि राज्यको नियन्त्रणमा हुनुपर्छ। यो कुरा पश्चिमी देशहरूमा पनि पूर्ण रूपमा लागू छ। त्यहाँ पनि व्यक्तिले भूमिमा पूर्ण स्वतन्त्र नियन्त्रण पाउँदैन। जसले भूमिको सेवा गर्छ, अन्न उब्जाउँछ, उसैसँग भूमिको सम्बन्ध हुनुपर्छ। सुकुम्बासी समस्यालाई सतहमा ल्याएर यसमा बहस जगाएको राम्रो हो। अब राज्यले सबै भूमि आफ्नो नियन्त्रणमा लिएर भूमि हुने र नहुनेबीचको द्वन्द्व सधैंका लागि अन्त्य गरोस्।

Facebook Comments