दाङ । श्री गोरक्ष पात्रदेवता सिद्दरत्ननाथ मठको आयोजनामा गोरक्ष प्रकट्य दिवस तथा एक महिने निःशुल्क चित्रकला समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
बैसाखी पूर्णिमाको अवसरमा हरेक वर्ष झैं यस वर्ष पनि आयोजना गरिएको सो कार्यक्रम मठका मठाधिस पिर योगी श्री ज्ञाननाथजीको अध्यक्षता तथा वरिष्ठ संगीत गुरु गोविन्दराज श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै मठका सदस्य सचिव डा. भोलानाथ योगीले गोरक्ष प्रकट्य दिवसको धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्बन्धमा विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो । मठ सञ्चालक समितिका सदस्य तोयनाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त समारोहमा संगीत गुरु गोविन्दराज श्रेष्ठ र सुशील कुमार गुप्ताले प्रस्तुत गर्नुभएको मधुर भजनले उपस्थित सम्पूर्णलाई मन्त्रमुग्ध बनाएको थियो ।
सोही अवसरमा एक महिनासम्म चलेको चित्रकला प्रशिक्षणमा सहभागी बालबालिकाहरूलाई पुरस्कृत गरिनुका साथै बालबालिकाहरूलाई निःशुल्क कला प्रशिक्षण प्रदान गर्नुहुने प्रशिक्षक पुरन योगी (रुद्राक्ष आर्ट) लाई विशेष सम्मान गरिएको थियो ।

प्रभात कला प्रतिष्ठानका अध्यक्ष लक्ष्मीनारायण शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमले स्थानीय स्तरमा कला र संस्कृतिको संरक्षणमा टेवा पुर्याउने विश्वास लिइएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
