घोराही । दाङको घोराहीस्थित एशियन वर्ल्ड स्कूलले यस शैक्षिक सत्रदेखि कक्षा ११ मा समयसापेक्ष र आधुनिक विषयहरूको पठनपाठन सुरु गर्ने भएको छ। नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको विद्यालयले विद्यार्थीको रुचि र विश्व बजारको मागलाई मध्यनजर गर्दै प्राविधिक तथा सीपमूलक कार्यक्रमहरू अगाडि सारेको हो।
विद्यालयले विशेषगरी फेशन डिजाइन, सूचना प्रविधि (आईटी), होटल म्यानेजमेन्ट तथा कोरियन र जापनिज भाषा जस्ता विषयहरूलाई प्लसटु तहको पाठ्यक्रममा समावेश गरेको छ।
विद्यालयका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रप्रकाश खनालले पत्रकारहरूसँगको भेटघाटमा नयाँ कार्यक्रमबारे विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको ज्ञान र सीप प्रदान गरी प्रत्यक्ष रोजगारीसँग जोड्ने उद्देश्यले यी विषयहरू छनोट गरिएको हो।
”हामीले परम्परागत शिक्षाभन्दा भिन्न, विद्यार्थीको वृत्तिविकासमा प्रत्यक्ष सहयोग पुग्ने आधुनिक कार्यक्रमहरू ल्याएका छौँ,” सिइओ खनालले भन्नुभयो, “यी विषयहरू अत्याधुनिक प्रविधि, दक्ष विषय विज्ञ र पूर्णतः व्यावहारिक शिक्षण प्रणालीमार्फत सञ्चालन हुनेछन्।” विद्यालयले नयाँ कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक पुनर्संरचना र जनशक्ति सबलीकरणको कामलाई समेत तीव्र पारिएको जानकारी दिएको छ।
नयाँ शैक्षिक कार्यक्रमले विद्यार्थीहरूलाई स्वदेशमै बसेर अन्तर्राष्ट्रिय स्तरको सीप सिक्ने अवसर प्रदान गर्ने विद्यालयको दाबी छ। यसबाट विद्यार्थीहरूलाई भविष्यमा देश तथा विदेश जहाँसुकै पनि आफ्नो करियर निर्माण गर्न थप सहज हुने विश्वास लिइएको छ। दक्ष जनशक्ति उत्पादन गरी आत्मनिर्भर बनाउने लक्ष्यसहित विद्यालयले ल्याएका यी कार्यक्रमहरूले जिल्लाको शैक्षिक स्तरमा नयाँ इँटा थप्ने अपेक्षा गरिएको छ।
सोही कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन र पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले विद्यालयको नयाँ प्रयासको प्रशंसा गर्नुभयो। उहाँहरूले बजारको माग अनुसारका विषयहरू सुरु गर्नु सकारात्मक कदम भएको उल्लेख गर्दै यसको कार्यान्वयन पक्षमा ध्यान दिन आग्रह गर्नुभयो।
”विद्यालयले ल्याएका यी कार्यक्रमहरू केवल प्रचारका लागि मात्र नभई वास्तविक रूपमा दक्ष जनशक्ति उत्पादन गर्ने खालका हुनुपर्छ,” उहाँहरूले सुझाव दिनुभयो, “अबको शिक्षा वास्तवमै व्यावहारिक र जीवनोपयोगी हुन आवश्यक छ।”
नयाँ व्यवस्थापनले विद्यालयको गुणस्तर र भौतिक पूर्वाधारमा गरेको लगानीले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। विद्यालयले यस वर्षदेखि नै यी सबै नयाँ कार्यक्रमहरूमा भर्ना प्रक्रिया र पठनपाठन सुरु गर्ने तयारी पूरा भएको जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
