• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिक्षक क्षमता विकासमा राजपुर: कक्षा १–३ मा प्रभावकारी मूल्याङ्कनका लागि कार्यशाला




श्रवण कुमार यादव
दाङ। सामुदायिक विद्यालयको सिकाइ गुणस्तर सुधारलाई केन्द्रमा राख्दै राजपुर गाउँपालिकाले शैक्षिक सुधार अभियानलाई औपचारिक रूपमा अघि बढाएको छ। “संस्कारयुक्त गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता” भन्ने नारासहित सुरु गरिएको पहलअन्तर्गत कक्षा १–३ का विद्यार्थीहरूको मूल्याङ्कन प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यका साथ तीन दिने कार्यशाला आजदेखि सञ्चालनमा आएको छ।

कार्यक्रममा गाउँपालिका शिक्षा शाखा अधिकृत बासु खनालले शैक्षिक २०८३ लाई “शैक्षिक सुधार वर्ष” का रूपमा सफल बनाउन यस्तो तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले तालिमलाई केवल सैद्धान्तिक नभई कार्यशालामुखी बनाइने बताउँदै पहिलो दुई दिन मूल्याङ्कन प्रणालीमा केन्द्रित छलफल र अभ्यास हुने तथा तेस्रो दिन कक्षा १ मा अंग्रेजी माध्यमबाट शिक्षणसम्बन्धी विषयमा विशेष छलफल गरिने जानकारी दिए।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक र प्रशिक्षकबीच खुला संवाद आवश्यक रहेको उल्लेख गरिन्। उनले शिक्षकहरूलाई आफ्ना समस्या र अनुभव साझा गर्न आग्रह गर्दै दोहोरो छलफलबाट मात्रै वास्तविक सुधार सम्भव हुने धारणा राखिन्। साथै, कक्षा १ मा अंग्रेजी माध्यमबाट शिक्षण सुरु गर्ने तयारी भइरहेको पनि उनले बताइन्।

कार्यक्रममा ३२ सामुदायिक र ५ संस्थागत गरी ३७ वटै विद्यालयबाट ४० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको छ भने प्रशिक्षकका रूपमा साधारण नमूना मावि गंगदीका शिक्षक मान बहादुर केसी रहेका छन्।

यसैबीच, गाउँपालिकाले स्वीकृत वार्षिक कार्यक्रम अनुसार वैशाख महिनाभरि विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। जसअनुसार कक्षा १-३ शिक्षकहरूका लागि मूल्याङ्कन तथा अंग्रेजी शिक्षण तालिम वैशाख ९-११ गते, प्रधानाध्यापकहरूको क्षमता विकास तालिम वैशाख ११-१३ गते, शिक्षकहरूका लागि संगीत तालिम वैशाख १२-१८ गते तथा बालविकास सहजकर्ताहरूका लागि पुनर्ताजगी तालिम वैशाख १९-२३ गतेसम्म सञ्चालन हुने शिक्षा शाखा प्रमुख बासु खनालले जानकारी दिएका छन्।

Facebook Comments