काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आगामी बैशाख १९ र २० गते रोल्पाको थवाङ गाउँपालिकामा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ आयोजना गर्ने भएको छ ।
नक्सालस्थित प्रज्ञा–प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उत्सवका संयोजक एवं सदस्य सचिव कुश्मा महराले उत्सवमार्फत् सामाजिक चेतना अभिवृद्धि र सांस्कृतिक एकता सुदृढीकरण गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठानद्वारा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको उत्सवले समाजमा व्याप्त असमानता, विभेद र अन्यायविरुद्ध सचेतना फैलाउँदै समानता र समावेशिताको सन्देश दिने दाबी गरिएको छ । पत्रकार सम्मेलनमा कुलपति निशा शर्मा पोखरेलले समाज परिवर्तनका लागि अघिल्ला पुस्ताले गरेको बलिदान र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनु उत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले ऐतिहासिक पृष्ठभूमिलाई बिर्सिँदै जाने ‘खोलो तर्यो लौरो बिर्स्यो’ भन्ने प्रवृत्तिको अन्त्य गर्न यो कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै उपकुलपति शम्भू राईले समाजलाई सकारात्मक बाटोमा डोर्याउने सबै खाले गीत-सङ्गीत प्रगतिशील हुने धारणा राख्दै कलाकारहरूको योगदानको सम्मानका लागि उत्सव महत्त्वपूर्ण हुने बताउनुभयो । देशभरका अग्रज तथा उदयीमान कलाकार, सांस्कृतिक समूह, शोधकर्ता र सञ्चारकर्मीहरूको सहभागिता रहने यस उत्सवको सह-आयोजकमा रोल्पा साहित्य–कला प्रतिष्ठान रहेको छ भने मूल व्यवस्थापनको जिम्मेवारी थवाङ गाउँपालिकाले लिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

