• ८ बैशाख २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानको ४०० शैया अस्पताल भवनको ठेक्का चालु आवमै: प्रधानमन्त्री




घोराही । प्रधानमन्त्री एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले प्रतिष्ठानको ४०० शैयाको अस्पताल भवन निर्माणका लागि ठेक्का प्रक्रिया चालु आर्थिक वर्षभित्रै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

​बैशाख ७ गते प्रधानमन्त्री कार्यकक्षमा विभिन्न विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको समसामयिक छलफलका क्रममा उहाँले यस्तो आश्वासन दिनुभएको हो। छलफलमा प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिष्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानको समग्र गतिविधि बारे जानकारी गराउँदै समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।

​४०० शैयाको अस्पताल निर्माणका लागि बहुवर्षीय ठेक्का स्वीकृति र स्रोत सुनिश्चितता हुन सके चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया सम्पन्न गर्न सकिने प्रतिष्ठानले जनाएको छ। यसले दाङसहित समग्र पश्चिम नेपालको स्वास्थ्य सेवामा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ।

​छलफलका क्रममा प्रा. लम्सालले स्वास्थ्य बीमा बोर्डबाट प्राप्त हुनुपर्ने बक्यौता रकम तत्काल शोधभर्ना नभए प्रतिष्ठान गम्भीर आर्थिक संकटमा फस्न सक्ने जानकारी गराउनुभएको छ। साथै, प्रतिष्ठानलाई गतिशील बनाउन रिक्त रहेका उपकुलपति, शिक्षाध्यक्ष, डीन, निर्देशक, तथा सेवा आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्ति प्रक्रियालाई तीव्रता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

​प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा अतिक्रमण हुँदा भौतिक संरचना विस्तारमा कठिनाइ भएको विषय पनि छलफलमा उठेको छ। जग्गा खाली नहुँदा सवारीसाधन पार्किङ, फोहोर व्यवस्थापन प्लान्ट र अन्य आवश्यक संरचना निर्माण गर्न नसकिएको प्रतिष्ठानले जनाएको छ।

जवाफमा प्रधानमन्त्री शाहले स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै बजेट सुनिश्चितता, रिक्त पदपूर्ति र जग्गा व्यवस्थापनका विषयमा सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ।

Facebook Comments